२०८३ कार्तिक १३ गते, बिहीबार १९:३०

मंसिरमा देशव्यापी अभियान: नवनिर्वाचित सभापति गगन थापा

काठमाडौं —

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टी र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउन मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

नयाँ कार्यसमिति सदस्यहरूको शपथग्रहणपछि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले ‘हामी तयार छौँ’ भन्ने सन्देशका साथ उक्त अभियान अगाडि बढाइने जानकारी दिएका हुन्।

सभापति थापाका अनुसार छिट्टै पार्टीको पूर्ण बैठक डाकेर सबै नेता-कार्यकर्ताको धारणा सुनिनेछ। प्राप्त सुझावका आधारमा आगामी चार वर्षका लागि स्पष्ट कार्यतालिका बनाएर अनुशासित ढङ्गले काम अघि बढाउने रणनीति कांग्रेसले लिएको छ।

प्रमुख प्रतिपक्षको जिम्मेवारी सरकारका कामकारबाहीको निरन्तर निगरानी गर्नु रहेको उल्लेख गर्दै थापाले कानुनी शासनको उल्लंघनविरुद्ध कांग्रेस सशक्त रूपमा उभिने प्रतिबद्धता जनाए।

तिहार र छठ पर्वलगत्तै लिडरसिप एकेडेमी, इलेक्सन ब्युरो र गभर्नन्स इन्स्टिच्युटले आफ्नो काम थाल्ने उनले बताए। नेता तथा कार्यकर्ताको रुचि र क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट गरिनेछ भने सहमहामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनासहित कार्यविभाजन गरिनेछ।

सभापति थापाले पार्टीका परम्परागत र औपचारिक कार्यक्रमको शैली पूर्ण रूपमा परिवर्तन गर्ने संकेत गरेका छन्। हलभित्र सोफामा बसेर ताली बजाउने र औपचारिकतामा सीमित शुभकामना आदानप्रदानका कार्यक्रममा सहभागी नहुने घोषणा उनले गरे।

सरसफाइ, विपन्न वर्गलाई सहयोग तथा समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक एवं फलदायी कार्यक्रम आयोजना भएमा मात्रै आफू सहभागी हुने भन्दै उनले सोहीअनुसार अघि बढ्न मातहतका निकायलाई कडा निर्देशन दिएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस