२०८२ भाद्र ६ गते, शुक्रबार १३:४९

काठमाडौं-

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीच भएको झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइएको छ। झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएका छन्।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख एसएसपी जनार्दन जिसीले प्रहरीको भ्यान जलाइएको जानकारी दिए। उनले भने, “झडप भएपछि नियन्त्रणका लागि गएको प्रहरीको भ्यान नै जलाइएको छ। घटनाबारे अनुसन्धान सुरु गरेका छौं।”

झडपलाई नियन्त्रणमा लिन रुपन्देहीबाट थप प्रहरी खटाइएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार थप मद्दतका लागि ५० जना प्रहरी पठाइएको छ।

आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हिजो (सोमबार) बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको थियो। सोही विषयलाई लिएर आज तनाव बढेको एक प्रहरी अधिकृतले बताए।

करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो। सोही विषयलाई लिएर केटी पक्षले केटाका बुबालाई गत माघमा कुटपिट गरेका थिए। सोही घटनाका कारण उनीहरूबीच द्वन्द्व बढेको थियो। त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो।

तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ।

यो घटनापछि गाउँलेहरू दुई पक्षमा विभाजित भई कुटपिटमा उत्रिएका थिए। प्रहरीले बल प्रयोग गरेर अहिले स्थिति नियन्त्रणमा लिएको छ। प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा छलफल भइरहेको वडाध्यक्ष गोधनप्रसाद हरिजनले जानकारी दिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस