२०८२ असार १७ गते, मंगलवार १०:४३

नवलपरासी —

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा मङ्गलबार बिहान दुई पक्षबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। मृतकको नाम पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवल रहेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार, धवलको रुपन्देहीको भैरहवास्थित सिटी अस्पतालमा उपचारका क्रममा मङ्गलबार साँझ मृत्यु भएको हो। झडपमा घाइते भएका मोहरम पावारिया र ४५ वर्षीय बैजनाथ प्रसाद लोनियको अहिले उक्त अस्पतालमा नै उपचार भइरहेको छ। पावारियाको अवस्था जटिल रहेकाले उनलाई सघन उपचार कक्षमा राखिएको छ भने लोनियको दुवै खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाको विवरण अनुसार, मङ्गलबार बिहान १० बजे केटा पक्षकाले केटी पक्षका घरमा आएर आगजनीको प्रयास गरेपछि झडप भएको थियो। झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको गाडी नम्बर: (जनपद) बा१झ ७४४८मा पनि आगजनी गरिएको थियो। घाइते हुनेमा नेपाल प्रहरीका ११ जना, सशस्त्र प्रहरीका ४ जना र स्थानीय ४ जना रहेका छन्।

प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि पाँच राउण्ड अश्रुग्यास र तीन राउण्ड हवाई फायर गरेको थियो। अहिले झडप भएको स्थानमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ। घटनाको कारण र पृष्ठभूमि बारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस