वीरगन्ज-
हनुमान जयन्तीको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा उत्पन्न तनाव र झडपको घटनाप्रति मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गम्भीर चासो व्यक्त गरेका छन्।
मुख्यमन्त्री सिंहले घटनाको निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित प्रशासनलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामबाट जारी गरिएको प्रेस विज्ञप्तिमा मुख्यमन्त्री सिंहले सामाजिक सद्भाव र सहिष्णुता हाम्रो राजनीतिक, सामाजिक र प्रहरी प्रशासन लगायत सबैको साझा सम्पत्ति भएको उल्लेख गरेका छन्। उनले यसलाई अक्षुण्ण राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।
विज्ञप्तिमा मुख्यमन्त्री सिंहले भनेका छन्, ‘वीरगन्जमा सामाजिक सद्भाव र सहिष्णुता सुनिश्चित गर्न राजनीतिक दल, नागरिक समाज र प्रहरी प्रशासन लगायत सबैको प्रयासको समेत अहम् भूमिका रहनुपर्दछ। मुख्यमन्त्री सिंहले देशको औद्योगिक नगरी वीरगन्ज धार्मिक तथा सांस्कृतिक विविधताको दृष्टिले अनुपम सहर रहेको र त्यहाँ सदियौंदेखि भातृत्वको सम्बन्ध कायम रहेको उल्लेख गर्दै कुनै पनि पक्षबाट हुने द्वेष, विद्वेष र दुर्भावनापूर्ण कार्य निन्दनीय रहेको बताएका छन्।’
मुख्यमन्त्री सिंहले घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको सूक्ष्म अध्ययन गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानूनबमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरेका छन्।
स्मरण रहोस्, हनुमान जयन्तीको शोभायात्राका क्रममा धार्मिक सद्भाव बिथोल्ने आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। त्यसपछि पक्राउ परेका हिन्दु युवाहरूको रिहाइको माग गर्दै धर्नामा बसेकाहरूमाथि प्रहरीले लाठीचार्ज गर्दा एक पत्रकार घाइते भएका थिए। यस घटनालाई लिएर वीरगन्जमा तनावको स्थिति सिर्जना भएको छ।
मुख्यमन्त्रीको यो निर्देशनले घटनाको निष्पक्ष छानबिन हुने र दोषीमाथि कारबाही हुने अपेक्षा गरिएको छ।















