वीरगन्ज–
हनुमान जयन्तीको शोभायात्राका क्रममा प्रहरीले हिन्दुवादी युवाहरुलाई नियन्त्रणमा लिएपछि उत्पन्न भएको तनाव वीरगन्जमा आज पनि कायमै रहेको छ।
आफ्ना युवाहरुको रिहाइको माग गर्दै मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि शान्तिपूर्ण धर्नामा बसेका हिन्दुवादी संघसंस्थाहरुका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी हटाएपछि स्थिति थप तनाग्रस्त बनेको हो।
प्रहरी हस्तक्षेपको विरोधमा आज हिन्दुवादी युवाहरुले वीरगन्ज नजिकैको जितपुरमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरुले प्रहरीको ज्यादती बन्द गर्नुपर्ने र पक्राउ परेका आफ्ना साथीहरुलाई तत्काल रिहा गर्नुपर्ने माग गरिरहेका छन्। टायर बालेर गरिएको प्रदर्शनका कारण केही समयका लागि यातायात समेत अवरुद्ध भएको थियो।
हिजोको प्रहरी हस्तक्षेपमा एभिन्युज टेलिभिजनका पत्रकार अर्जुन गुप्ता समेत घाइते भएका थिए। पत्रकारमाथि भएको लाठीचार्जको घटनालाई लिएर पत्रकार महासंघ पर्साले प्रहरीको घोर भर्त्सना गरेको छ।
यता, जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि हिजो भएको घटनापछि वीरगन्जको माहोल तातिएको छ। विभिन्न हिन्दुवादी संघसंस्थाहरुले प्रहरीको कार्यशैलीको विरोध गर्दै प्रदर्शन गरिरहेका छन्। प्रहरीले भने स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।
प्रहरीले धार्मिक सद्भाव बिथोल्ने आरोपमा नियन्त्रणमा लिएका चार जनामध्ये दुई जना हिन्दु र दुई जना मुस्लिम समुदायका रहेका छन्। यस घटनालाई लिएर दुवै समुदायका केही व्यक्तिहरु असन्तुष्ट देखिएका छन्।
प्रशासनले सबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै घटनाको छानबिन भइरहेको जनाएको छ। तर, हिन्दुवादी संघसंस्थाहरुले आफ्ना कार्यकर्ताहरुलाई बिनाकारण पक्राउ गरेको आरोप लगाउँदै रिहाइको मागलाई निरन्तरता दिएका छन्। जितपुरमा टायर बालेर गरिएको आजको प्रदर्शनले वीरगञ्जको सुरक्षा चुनौतीलाई थप बढाएको छ।















