काठमाडौँ —

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रस्ताव गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जेठ १५ गते गणतन्त्र दिवस भएकाले सो दिन बजेट प्रस्तुत गर्ने मिति परिवर्तन गर्नुपर्ने बताए।
“जेठ १५ गते गणतन्त्र दिवस, महत्वपूर्ण दिन हो। गणतन्त्र र बजेट शब्दको अन्तरनिहित अर्थ हेर्दा गणतन्त्रको वेटेज धेरै ठूलो छ,” निधीले भने। उनले संविधानमा जेठ १५ गते बजेट ल्याउने व्यवस्था भए पनि यसलाई संशोधन गर्न सकिने बताए। “संविधानमै लेखिएको कारणले जेठ १५ मा बजेट आउँछ। त्यसो भए संशोधन गरियोस्,” उनले थपे।
सांसद निधीले सरकार र सभामुखलाई यो विषयमा ध्यान दिन आग्रह गर्दै संसद्को विषय भएकाले विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गरे। उनले दुई ठूला दलहरूबीच संविधान संशोधनका लागि समझदारी भइसकेको सन्दर्भमा यो विषयलाई पनि समेट्न सकिने बताए।