२०८३ आश्विन १५ गते, बिहीबार १८:०६

रूपन्देहीमा करिब अढाई करोड रुपैयाँ मूल्यको सुन लेपन गरिएका गरगहना बरामद

भैरहवा—

सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले रु दुई करोड ५१ लाखभन्दा बढी मूल्यका गरगहना बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेलबाट ती गरगहना बरामद गरेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेलको शरीर तथा झोला जाँच गर्ने क्रममा उक्त गरगहना फेला पारेको जानकारी दिएको छ।

सीमा जाँचकक्षमा शङ्कास्पद रूपमा प्रस्तुत भएकी पटेलको साथबाट विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चूरा, माला, सिक्री, झुम्का, गोली औँठी, लकेट, पोते, बाली तथा जुली, टप, नाकको फूली, पत्थरवाला हार र ब्रासलेटलगायतका गरगहना बरामद गरिएको छ।

पटेलबाट बरामद गरगहनाको कुल तौल दुई किलो ६०५ ग्राम रहेको छ। उक्त गरगहनाको परीक्षण तथा धातुको परिमाण खुलाउन सिद्धार्थनगर सुनचाँदी व्यवसायी सङ्घमा पठाइएकोमा सुनको भाग करिब एक किलो रहेको परीक्षणबाट पुष्टि भएको प्रहरीले जनाएको छ। बरामद गरगहनाको भित्री भागमा अन्य धातु र बाहिर देखिने भागमा भने सुन लेपन गरिएको पाइएको छ।

प्रचलित मूल्यका आधारमा उक्त गरगहनाको कुल मूल्य रु दुई करोड ५१ लाख ९३ हजार ३५० कायम गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभएको छ। बरामद गरगहना र नियन्त्रणमा लिइएकी पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देही पठाइएको छ। सोही सन्दर्भमा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बरामद गरगहनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस