यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट दोस्रो धेरै रु १७ अर्ब ७० करोड राजस्व प्राप्त भएको छ, जुन कुल राजस्वको ११.२३ प्रतिशत हो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज –
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा पेट्रोलियम पदार्थको आयातबाट सबैभन्दा धेरै रु ७३ अर्ब १८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्न रु एक खर्ब ७४ अर्ब नौ करोड खर्च गरेको छ । कुल राजस्वमा पेट्रोलियम पदार्थको योगदान ४६.४३ प्रतिशत रहेको छ ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार वीरगन्ज भन्सारको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात हो । यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट दोस्रो धेरै रु १७ अर्ब ७० करोड राजस्व प्राप्त भएको छ, जुन कुल राजस्वको ११.२३ प्रतिशत हो ।
त्यस्तै, फलाम तथा फलामजन्य सामानबाट रु पाँच अर्ब ७८ करोड, मेसिनरी र पार्टपुर्जाबाट रु पाँच अर्ब २६ करोड, इलेक्ट्रिक मेसिनरी र उपकरणबाट रु तीन अर्ब ६७ करोड राजस्व सङ्कलन भएको छ । कपडा आयातबाट रु तीन अर्ब ६ करोड, सुर्तीजन्य पदार्थबाट रु दुई अर्ब ५८ करोड, शृङ्गारका सामानबाट रु दुई अर्ब ५२ करोड, प्लास्टिकका कच्चा पदार्थबाट रु दुई अर्ब ३२ करोड र लुब्रिकेटिङ आयलको आयातबाट रु दुई अर्ब १९ करोड राजस्व सङ्कलन भएको प्रशासक लामिछानेले बताए ।