२०८२ असार १६ गते, सोमबार २१:३३

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारले जनताको चाहना र अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • आजपा अध्यक्ष प्रभु साहले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार सुशासन र पारदर्शिता कायम गर्न नसकेको टिप्पणी गरे।
  • देशमा स्रोत र सम्भावना हुँदाहुँदै पनि नेतृत्वको कमजोरीले समृद्धि हासिल नभएको उल्लेख गर्दै महँगी र सेवा ढिलासुस्तीप्रति चिन्ता व्यक्त गरे।
  • उनले लोकतन्त्र सुदृढ गर्न र जनमुखी शासन स्थापना गर्न सबै राजनीतिक दललाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरे।

रौतहट-

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारले जनताको चाहना र अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । बुधबार रौतहटको गुजरा नगरपालिका–बलुवा टोलमा आयोजित ‘भ्रष्टाचारविरुद्ध अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले मुलुकमा सुशासन र पारदर्शिताको माग उच्च भए पनि त्यसअनुरूप काम नभएको गुनासो गरे ।

अध्यक्ष साहले भने, “देशको हावा, पानी, जमिन, जनशक्ति र प्राकृतिक स्रोत–साधन राम्रो भए पनि नेतृत्वको कमजोरीले मुलुकले अपेक्षित समृद्धि हासिल गर्न सकेको छैन । जनताको सरकारको अवधारणा बोकेर आएको व्यवस्थाले अझै जनअपेक्षाअनुरूप सेवा प्रवाह गर्न सकेको छैन ।”

उनले बढ्दो महँगी, करको बहानामा जनतामाथिको आर्थिक भार र सेवा प्रवाहमा ढिलासुस्तीप्रति चिन्ता व्यक्त गर्दै सबै दलहरूलाई पारदर्शी शासन र जनमुखी विकासमा अग्रसर हुन आग्रह गरे । “हामीले खोजेको व्यवस्था भनेकै आम जनताको शासन हो, जहाँ जनताले आफ्नो जीवनस्तर सहज बनाउन सकून् र मुलुकको समृद्धि सबैले अनुभूति गर्न सकून्,” उनले थपे ।

कार्यक्रममा साहले लोकतन्त्रको मार्गलाई सुदृढ गर्न सबै राजनीतिक दलहरू विशेष जिम्मेवारीका साथ अघि बढ्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस