२०८३ श्रावण १० गते, आईतवार १०:५९

नागढुंगा सुरुङमार्गको सोमबार उद्घाटन हुँदै

काठमाडौं –

नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने तथा राजधानीबाट बाहिरिने यात्रुका लागि लामो उकालो, घुमाउरो सडक र पहिरोको जोखिम कम हुनुका साथै आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यो सुरुङमार्ग नेपालको यातायात पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार मुख्य सुरुङको लम्बाइ २ दशमलव ६८ किलोमिटर छ। सुरुङभित्रको आपत्कालीन निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजसमेत जोड्दा आयोजनाअन्तर्गत निर्माण भएको सुरुङ संरचनाको कुल लम्बाइ करिब ५ दशमलव ५ किलोमिटर पुग्छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा–सिस्नेखोला सडकखण्डमा हुने नियमित यातायात चाप घट्ने, यात्राको समय बचत हुने तथा सवारी आवतजावत थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। विशेषगरी काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य मार्गमा लामो समयदेखि हुँदै आएको जाम र उकालो सडकको समस्याबाट यात्रुले राहत पाउनेछन्।

जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले २०७६ सालदेखि निर्माण सुरु गरेको आयोजना पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइका अध्यक्षको संयुक्त उपस्थितिमा उद्घाटन गर्ने तयारी गरिएको छ।

उद्घाटनपछि सुरुङमार्गलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा नल्याई चरणबद्ध रूपमा सञ्चालन गरिने सडक विभागले जनाएको छ। सुरुवाती चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइनेछ।

सुरुङभित्रको सुरक्षा प्रणाली, जेट फ्यान, वायु प्रवाह तथा अन्य प्राविधिक संरचनाको परीक्षणका लागि उद्घाटनको एक साताभित्र ‘मक ड्रिल’ अर्थात् नमुना अभ्यास गरिनेछ। सम्भावित दुर्घटना, आगलागी तथा अन्य आपत्कालीन अवस्थाको पूर्वतयारी परीक्षण गरिने विभागले जनाएको छ।

मक ड्रिलपछि करिब एक सातासम्म परीक्षणका रूपमा एकतर्फी रूपमा सवारी सञ्चालन गरिनेछ। त्यस अवधिमा सुरुङभित्र जडान गरिएका जेट फ्यान, वायु उत्सर्जन र अन्य सुरक्षा प्रणालीको प्राविधिक परीक्षण गरिनेछ। सबै प्रणालीको परीक्षण पूरा भएपछि करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रु तथा मालवाहक सवारीसाधनको आवतजावतमा सहजता आउने भए पनि मोटरसाइकल तथा प्रज्वलनशील र विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङभित्र प्रवेश गर्न निषेध गरिएको छ।

सिस्नेखोलाबाट माथिको उकालो, घुमाउरो सडक तथा पहिरोको जोखिम कम गर्ने उद्देश्यले निर्माण सुरु गरिएको यो आयोजना निर्माणका क्रममा देखिएका प्राविधिक तथा स्थानीयस्तरका चुनौती पार गर्दै सञ्चालनको चरणमा पुगेको हो।

नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गका रूपमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि राजधानीको यातायात व्यवस्थापनमा सुधार, यात्राको समय बचत र सडक सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस