वीरगन्ज।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकको काज सरुवा भएपछि नयाँ प्रहरी प्रमुखका रूपमा एसपी पवन कुमार भट्टराईले पदभार ग्रहण गर्नुभएको छ।
प्रहरी प्रधान कार्यालयले बुधबार गरेको निर्णय अनुसार पर्सामा ११ महिनासम्म कमान्ड सम्हालेका एसपी पाठकको उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौँ सरुवा भएको हो। उनको कार्यकालमा जिल्लाको शान्ति सुरक्षा चुस्त बनाउनुका साथै आपराधिक गतिविधि नियन्त्रणमा उल्लेख्य भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा एक समारोहका बीच भावपूर्ण बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौँबाट सरुवा भई आउनुभएका नयाँ प्रहरी प्रमुख एसपी पवन कुमार भट्टराईले पदभार ग्रहण गर्नुभएको छ। कार्यालयमा हाजिर भएसँगै बुझबुझारथ गरी उहाँले सकल दर्जाका प्रहरी अधिकृतहरूसँग परिचयात्मक तथा स्वागत कार्यक्रममार्फत नयाँ कार्यभार सम्हाल्नुभएको हो।











