२०८३ कार्तिक १२ गते, बुधबार २२:१०

बीरगन्जमा महिलाका लागि ३ महिने सिलाई-कटाई र ब्युटिसियन तालिम सुरु

बीरगन्ज–

महिलाहरूको सीप विकास तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल ट्रेड युनियन पर्साको आयोजनामा बीरगन्जमा ३ महिने सिलाई-कटाई तथा ब्युटिसियन तालिम सुरु भएको छ।

एक विशेष समारोहका बिच बीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गमलामा पानी हालेर तालिमको औपचारिक उद्घाटन गरे। कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख आलमले सहभागीहरूलाई दीपावली तथा छठ पर्वको शुभकामना दिँदै यस्ता सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न र आफ्नै व्यवसाय सञ्चालन गरी आयआर्जन गर्न ठुलो सहयोग पुर्‍याउने बताए।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल ट्रेड युनियनले नागरिकको दक्षता विकासका लागि सञ्चालन गर्दै आएका यस्ता कार्यक्रमको उनले प्रशंसासमेत गरे।

तालिममा जम्मा ३० जना महिलाहरूको सहभागिता रहेको छ। जसमध्ये सिलाई-कटाईतर्फ १५ जनालाई प्रशिक्षक मजिद मिया र ब्युटिसियनतर्फ १५ जनालाई प्रशिक्षक राधा हमालले प्रशिक्षण दिनेछन्।

नेपाल ट्रेड युनियन पर्साका अध्यक्ष छोटेलाल प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मिया, नेपाल ट्रेड युनियन मधेस प्रदेशका निवर्तमान अध्यक्ष लक्ष्मी प्रसाद कुर्मी र नेपाली कांग्रेस श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृत लाल जोशी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

त्यस्तै, कार्यक्रममा वडा नं. २ का वडा सदस्यहरू बसिर मिया, चन्द्र नारायण सिंह रिजाल, पुन्देव प्रसाद यादव, उर्मिला थापालगायत स्थानीय प्रतिनिधि तथा बासिन्दाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस