२०८३ भाद्र १५ गते, सोमबार १३:५०

भोटेकोशी बाढीमा अन्तर्राष्ट्रिय सहयोगको ओइरो, ३३ अर्बभन्दा बढीको सहायता प्रतिबद्धता

काठमाडौं –

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि नेपाललाई राहत, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको ओइरो लागेको छ । छिमेकी भारत र चीनदेखि अमेरिका, बेलायत, दक्षिण कोरिया, अस्ट्रेलिया तथा संयुक्त राष्ट्रसंघ र एसियाली विकास बैंकसम्मले नेपाललाई आर्थिक, राहत सामग्री तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

हालसम्म सार्वजनिक भएका प्रमुख आर्थिक सहयोग र प्रतिबद्धतालाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा करिब ३३ अर्ब रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय सहायता नेपालका लागि घोषणा वा प्रतिबद्ध भएको देखिन्छ । तर यसमध्ये सबै रकम तत्काल प्राप्त हुने अनुदान भने होइनन् । विश्व बैंकको ठूलो हिस्सा सहुलियतपूर्ण ऋण भएकाले त्यसलाई अनुदान र राहत रकमबाट अलग राख्नुपर्ने हुन्छ ।

चीनबाट सबैभन्दा ठूलो प्रत्यक्ष राहत प्रतिबद्धता

बाढीबाट प्रभावित नेपाललाई चीनले २२ करोड चिनियाँ युआन, अर्थात् करिब ४ अर्ब ९८ करोड रुपैयाँ राहत सहयोग घोषणा गरेको छ । चीनले आर्थिक सहयोगसँगै राहत सामग्री र उद्धार जनशक्तिसमेत परिचालन गरेको छ ।

चीनले करिब ५० टन आपत्कालीन राहत सामग्री नेपाल पठाएको छ । उद्धार तथा प्राविधिक सहयोगका लागि चिनियाँ विशेषज्ञ र ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । चीनले नेपालमा बाढीबाट क्षतिग्रस्त क्षेत्रमा सहयोग जारी राख्ने जनाएको छ ।

बेलायतको १ अर्बभन्दा बढी सहयोग

बेलायतले बाढीपीडितका लागि ५० लाख पाउन्ड, अर्थात् करिब १ अर्ब रुपैयाँभन्दा बढी सहयोग घोषणा गरेको छ । बेलायतले आर्थिक सहयोगसँगै आपत्कालीन प्रतिक्रिया टोली परिचालन गरी उद्धार तथा राहत कार्यमा प्राविधिक सहयोगसमेत उपलब्ध गराउने जनाएको छ ।

अमेरिकाबाट करिब साढे ७ करोड

अमेरिकाले नेपाललाई बाढी प्रतिकार्यका लागि ५ लाख अमेरिकी डलर, अर्थात् करिब ७ करोड ६२ लाख रुपैयाँ बराबरको मानवीय सहायता दिने प्रतिबद्धता जनाएको छ ।

अमेरिकी सहयोग तत्कालीन राहत तथा प्रभावित समुदायको आवश्यकतामा केन्द्रित हुनेछ ।

अस्ट्रेलिया र दक्षिण कोरियाको पनि आर्थिक सहयोग

अस्ट्रेलियाले करिब १० लाख अमेरिकी डलर, अर्थात् करिब १५ करोड रुपैयाँ बराबरको मानवीय सहायता घोषणा गरेको छ । दक्षिण कोरियाले पनि करिब १० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

यससँगै बाढी प्रभावित क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय निकायमार्फत थप राहत परिचालन गर्ने तयारी भइरहेको छ ।

संयुक्त राष्ट्रसंघ र एडीबीबाट पनि तत्काल सहायता

बाढीपछि संयुक्त राष्ट्रसंघले आपत्कालीन राहतका लागि २५ लाख अमेरिकी डलर बराबरको रकम परिचालन गरेको छ । यो रकम खाद्यान्न, स्वास्थ्य, सरसफाइ तथा अन्य अत्यावश्यक राहत कार्यमा प्रयोग हुने जनाइएको छ ।

यस्तै, एसियाली विकास बैंक (एडीबी) ले तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर, अर्थात् करिब ७६ करोड रुपैयाँ बराबरको आपत्कालीन अनुदान स्वीकृत गरेको छ । एडीबीले विपद्पछिको आवश्यकता मूल्यांकनका लागि थप प्राविधिक सहयोगसमेत उपलब्ध गराउने भएको छ ।

विश्व बैंकको २५ अर्बभन्दा बढीको सहुलियतपूर्ण ऋण

बाढीबाट क्षतिग्रस्त सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि विश्व बैंकले करिब १६ करोड ७० लाख अमेरिकी डलर, अर्थात् २५ अर्ब रुपैयाँभन्दा बढीको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

यो रकम अनुदान नभई सहुलियतपूर्ण ऋण भएकाले तत्काल राहतका लागि प्राप्त अनुदानसँग जोडेर हेर्न नमिल्ने भए पनि बाढीपछिको पुनर्निर्माणमा यसले ठूलो आधार तयार गर्नेछ ।

भारतको सहयोगमा राहत सामग्रीको ठूलो खेप

नेपालको अर्को छिमेकी भारतले नगद सहयोगभन्दा राहत सामग्री र प्राविधिक सहयोगलाई प्राथमिकता दिएको छ । भारतले हालसम्म ६० टनभन्दा बढी आपत्कालीन राहत सामग्री नेपाल पठाएको पछिल्लो विवरणमा उल्लेख छ ।

भारतबाट त्रिपाल, कम्बल, प्लास्टिक सिट, सुत्ने सामग्री, सरसफाइका सामग्री, औषधि तथा उद्धार उपकरणलगायत सामग्री नेपाल ल्याइएको छ ।

भारतसहित चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, श्रीलंका र बंगलादेशलगायत देशले नेपालमा विशेष खोज तथा उद्धार टोली पठाउने प्रस्तावसमेत गरेका थिए । नेपालले भने विदेशी उद्धार टोली परिचालनको सट्टा आर्थिक, राहत सामग्री तथा प्राविधिक सहयोग लिन प्राथमिकता दिएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस