काठमाडौँ–
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रहरीले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार मङ्गलवार रातिसम्म कुल १ हजार ६८ वटा शव फेला परेका छन्।
प्रहरीको तथ्याङ्कअनुसार फेला परेका शवहरूमा ३० बालक, ३५ बालिका, २३२ महिला र ३७१ पुरुष रहेका छन्। यसबाहेक बाढी प्रभावित क्षेत्रबाट ४ सय वटा आंशिक मानव अङ्गहरूसमेत बरामद गरिएको छ।
फेला परेकामध्ये १ हजार ५६ वटा शवको कानूनी जाँच (पोस्टमार्टम/परीक्षण) भइसकेको छ भने ५८ जनाको शव पहिचान गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। अझै ९१३ वटा शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। सर्वसाधारणले आफ्ना बेपत्ता आफन्तको पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले सनाखत हुन बाँकी शवहरूको विवरण प्रहरीको आधिकारिक वेबसाइटमा अपलोड गरिएको छ।
यसैगरी, बाढीका कारण हालसम्म ४ हजार ६०६ जना नागरिक सम्पर्कविहीन (बेपत्ता) रहेका छन्। बेपत्ता हुनेहरूमा २ हजार ६८३ जना नेपाली र ५८३ जना विदेशी नागरिक रहेका छन्।
४ हजार ५ सयभन्दा बढीको उद्धार
विपद् प्रभावित क्षेत्रबाट प्रहरी तथा सुरक्षा निकायको टोलीले हालसम्म ४ हजार ५३० जनाको सकुशल उद्धार गरेको छ। उद्धार गरिएकाहरूमा ३ हजार २१४ पुरुष, १ हजार ३०२ महिला र १४ जना लिङ्ग नखुलेका व्यक्तिहरू छन्। साथै, प्रभावित क्षेत्रमा रहेका ५८० जना विदेशी नागरिकको पनि सकुशल उद्धार गरिएको छ।
खोजी, उद्धार तथा राहत सामग्री वितरणका लागि नेपाल प्रहरीले मात्रै ७ हजार ९१२ जना जनशक्ति मैदानमा परिचालन गरेको छ। विपद्का क्रममा ६५ जना प्रहरी कर्मचारीहरूसमेत प्रभावित भएका छन् भने २५ जना प्रहरी जवान अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।









