२०८३ कार्तिक ७ गते, शुक्रबार ११:४५

साइबर सुरक्षा जोखिमका कारण नेपाल राष्ट्र बैंकका अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौँ —

विश्वभर देखिएको गम्भीर साइबर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। बिहीबारदेखि नै नेपालका विभिन्न सरकारी निकाय तथा बैंक तथा वित्तीय संस्थाहरूका वेबसाइट र डिजिटल सेवाहरू प्रभावित भइरहेका बेला राष्ट्र बैंकले यस्तो निर्णय लिएको हो।

नेपाल राष्ट्र बैंकले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै वेब प्रविधि (PHP) मा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण सम्भावित क्षति रोक्न वेबसाइट र अन्य अनलाइन सेवाहरू अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। सेवा अचानक बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति ध्यान ध्यानाकर्षण गराउँदै राष्ट्र बैंकले जोखिम नियन्त्रणका लागि आवश्यक प्राविधिक काम भइरहेको स्पष्ट पारेको छ।

साथै, राष्ट्र बैंकले साइबर जोखिमलाई केन्द्रित गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ। प्रयोगमा रहेका प्रणालीहरूलाई तत्काल सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउनसमेत राष्ट्र बैंकले सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।

विश्वव्यापी रूपमा देखिएको यो प्राविधिक समस्याले नेपालका विभिन्न सरकारी वेबसाइट र वित्तीय सेवामा अन्योल सिर्जना गरेको छ। राष्ट्र बैंकले यस अवधिमा आफ्ना आधिकारिक सूचनाहरू सामाजिक सञ्जालमार्फत प्रवाह गरिने जानकारी दिएको छ। आवश्यक सुरक्षा जोखिम नियन्त्रण तथा प्राविधिक परीक्षण सम्पन्न भएपश्चात् मात्र सेवाहरू पुनः नियमित सञ्चालनमा ल्याइने जनाइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस