२०८३ कार्तिक ७ गते, शुक्रबार ११:४५

होर्मुज जलडमरूमध्यमा तेल ट्यांकरमाथि आक्रमण भएको इरानको दाबी, अमेरिकाद्वारा अस्वीकार

तेहरान/वाशिङ्टन —

इरानले रणनीतिक महत्त्वको होर्मुज जलडमरूमध्यमा सातवटा तेल ट्यांकरमाथि आक्रमण भएको र ती क्षतिग्रस्त बनेको दाबी गरेको छ। साथै, अमेरिकाले जलमार्गमा जहाज आवागमन सहज बनाउन सैन्य सहयोग गरे मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडालाई समेत निशाना बनाउने चेतावनी इरानले दिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बिहीबार जारी गरेको विज्ञप्तिमा चारवटा जहाज तेल स्थानान्तरण गरिरहेका बेला निशानामा परेको र रातभर आगलागी भएको जनाएको छ भने अन्य तीनवटा जहाज समुद्रमा बिछ्याइएका बारुदी सुरुङमा ठोक्किएर सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको दाबी गरिएको छ। यद्यपि, इरानको यो दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन र घटनामा मानवीय क्षति भए–नभएको तथा प्रभावित जहाज कुन देशका हुन् भन्ने विवरण पनि सार्वजनिक गरिएको छैन।

आईआरजीसीले अमेरिकाले होर्मुज जलडमरूमध्यका अन्य क्षेत्रमा तेल ट्यांकरको आवागमन सहज बनाउन सहयोग जारी राखे द्वन्द्व क्षेत्रीय अमेरिकी सैन्य अखडासम्म फैलिन सक्ने चेतावनी दिएको छ। ‘सेपाह न्युज’ मा प्रकाशित विज्ञप्तिमा यदि यही क्रम जारी रहे द्वन्द्व यस क्षेत्रका अमेरिकी सैन्य अखडासम्म विस्तार हुने उल्लेख गर्दै यसलाई गम्भीर चेतावनीका रूपमा लिन अमेरिकालाई आग्रह गरिएको छ। अर्कोतर्फ, अमेरिकाले इरानको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी मध्यावधि निर्वाचनअघि तेलको मूल्य बढाउने उद्देश्यले झुटा आक्रमण र बारुदी सुरुङसम्बन्धी दाबीहरू गरिरहेको आरोप लगाएका छन्। ट्रुथ सोसलमार्फत उनले द्वन्द्व सुरु हुनुअघिको तुलनामा अहिले होर्मुज जलमार्गबाट बढी तेल ओसारपसार भइरहेको दाबी गरेका छन्।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका प्रवक्ताले पनि बारुदी सुरुङसम्बन्धी इरानको दाबी गलत भएको बताएका छन्। उनका अनुसार अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जलमार्गबाट बारुदी सुरुङ हटाइसकेको छ, ९५ प्रतिशत जहाजले उक्त मार्गबाट सुरक्षित आवागमन गरिरहेका छन् र इरानले क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरिरहेको छ। अमेरिकी नाकाबन्दीका कारण सैन्य क्षमता पुनर्निर्माण गर्न आवश्यक स्रोतबाट इरान वञ्चित भएको उल्लेख गर्दै उनले पछिल्ला दाबीहरूलाई दबाबसँग जोडेका छन्। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेपछि यस जलमार्गमा तनाव बढेको छ। युद्धअघि विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ हिस्सा यही मार्गबाट हुने गरेकोमा इरानले अनुमति नलिई आवागमन गर्ने जहाजमाथि आक्रमण तीव्र पार्दै आएको छ।

तेहरान र वाशिङ्टनबाट प्राप्त रिपोर्टहरू अनुसार पछिल्लो समय दैनिक आक्रमणमा पर्ने जहाज र तेल ट्यांकरको सङ्ख्या बढिरहेको छ भने नोभेम्बरको सुरुआतमा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि अमेरिकाले इरानमाथि थप आक्रमण गर्न सक्ने आशङ्का व्यक्त गरिएको छ। यता अमेरिकामा भने इरानविरुद्ध थप आक्रमण गर्दा करदाताको रकम खर्च हुने विषयमा नागरिकहरूले असन्तुष्टि व्यक्त गरेका छन्। युद्धका कारण इन्धनको मूल्य बढ्दा सर्वसाधारणको दैनिक जीवनयापन खर्चसमेत बढेको र यसले अमेरिकी प्रशासनमाथि दबाब बढाएको छ। होर्मुज जलडमरूमध्यमा जहाजमाथि भएका भनिएका आक्रमण, अमेरिकाको सैन्य उपस्थिति र इरानको प्रतिकारको चेतावनीले विश्व ऊर्जा आपूर्ति तथा अन्तर्राष्ट्रिय व्यापारमा थप अनिश्चितता सिर्जना गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस