२०८३ कार्तिक १५ गते, शनिबार १४:२८

बाराको फेटामा स्वास्थ्य चौकी उद्घाटनको विवादले लियो उग्र रूप: प्रहरीको गोली लागी एक युवक घाइते

वीरगन्ज–

बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उद्घाटनको विषयलाई लिएर उत्पन्न विवादले उग्र रूप लिँदा प्रहरीको गोली लागेर एक जना युवक घाइते भएका छन्।

शनिबार बिहान गाउँपालिका अध्यक्षसहितको टोलीले फेटा गाउँपालिका वडा नम्बर-३ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकै रहेको नयाँ स्वास्थ्य चौकी उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो। तर, विपक्षी समूहले उक्त कार्यक्रममा रोक लगाएपछि दुई पक्षबीच विवाद सुरु भएको थियो।

विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणबाहिर गएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। भीडले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नु परेको थियो।

मधेस प्रहरी प्रमुख डीआईजी ओम प्रसाद अधिकारीका अनुसार भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। सोही क्रममा गोली लागेर एक युवक घाइते भएका हुन्।

घटनामा घाइते भएका युवकलाई तत्काल उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज ल्याइएको छ जहाँ उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। हालसम्म घाइते युवकको पहिचान भने खुल्न सकेको छैन। साथै, ती युवक कसको गोलीबाट घाइते भएका हुन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस