२०८३ कार्तिक १५ गते, शनिबार १५:१९

‘हाई सेक्युरिटी’ को दाबी हावामा: पर्सामा अन्धाधुन्ध ठक्कर दिँदै भारतीय गाडी भन्सार छलेर भाग्यो, सीमा सुरक्षाको पोल खुल्यो!

वीरगन्ज–

नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा निकायको उच्च सतर्कता र निगरानीको दाबीलाई ठाडै चुनौती दिँदै एक भारतीय नम्बर प्लेटको सुजुकी कारले बारादेखि पर्साका विभिन्न स्थानमा आतंक मच्चएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति र आँखा छल्दै उक्त गाडीले लगातार सवारीसाधनलाई ठक्कर दिँदै मुख्य भन्सार नाकाबाट पुनः भारततर्फ फरार हुने क्रममा अन्ततः पक्राउ परेको छ।

शुक्रबार दिउँसो करिब ४:०० बजेको समयमा सिमराबाट आउँदै गरेको BR 05 AZ 9489 नम्बरको सुजुकी गाडीले परवानीपुर, बाइपास सडक खण्ड र मितेरी पुल क्षेत्रमा गुडिरहेका धेरै वटा मोटरसाइकललाई ठक्कर दिएको थियो। दिनदहाडै भारतीय गाडीले मच्चाएको यो लापरबाहीपूर्ण र अनियन्त्रित गतिले सर्वसाधारणमा ठूलो त्राहिमाम सिर्जना गरेको थियो।

प्रहरीको दाबी र फितलो सुरक्षा व्यवस्थाको पर्दाफास

घटनाबारे प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डीएसपी चक्रबहादुर मल्लले ढिला गरी सूचना प्राप्त भएको स्वीकार गरेका छन्।

घटनापश्चात तत्कालै कुनै पनि पीडित वा निकायबाट हामीलाई खबर आएको थिएन। तर, जानकारी प्राप्त हुनासाथ हामीले तुरुन्तै ‘मैसेज रिले’ गर्यौं। त्यतिबेलासम्म सो गाडी मितेरी पुलमा पुगिसकेको खबर पाएपछि हामीले नियन्त्रणमा लिने प्रयास गर्यौं,” डीएसपी मल्लले बताए।

उनका अनुसार मितेरी पुलमा समेत एक जना मोटरसाइकल सवारलाई ठक्कर दिँदै सो गाडी तीव्र गतिमा रक्सौलतर्फ हुइँकिएको थियो। पछि भारतीय सशस्त्र सीमा बल (SSB) र नेपाल प्रहरीको संयुक्त पहलमा भारतको रक्सौलस्थित डकन अस्पताल नजिकै उक्त गाडी लाई प्रहरीले आफनो नियन्त्रणमा लिएको थियो र चालक भने फरार भैसकेकाथिए। आवश्यक कानुनी पहल र प्रक्रियाका लागि अहिले नेपाली प्रहरीको टोली रक्सौलतर्फ गएको प्रहरीले जनाएको छ।

सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्नचिह्न

नेपाल–भारत सीमा क्षेत्रमा २४ घण्टा उच्च निग्रानी र कडा सुरक्षा जाँच हुने दाबी गरिए पनि पर्सा प्रहरीको यो दाबी कागजी मात्रै साबित भएको छ। नेपाल छिरेर सर्वसाधारणलाई ठक्कर दिँदै, सुरक्षा जाँच छल्दै र मुख्य भन्सार नाकाबाट सजिलै भारततर्फ फरार हुन सक्नुले सीमा सुरक्षा व्यवस्थाको गम्भीर कमजोरीलाई छर्लंग पारेको छ।

यस घटनाले भविष्यमा आपराधिक मनोवृत्तिको व्यक्तिहरूले नेपालमा कुनै पनि जघन्य आपराधिक घटना घटाएर सहजै सीमा पार गर्न सक्ने जोखिम रहेको भन्दै स्थानीय बासिन्दाहरूले सुरक्षा व्यवस्था थप कडा पार्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस