वीरगन्ज –
मधेश प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगन्जको आर्दशनगर रंगशालामा हुने भएको छ । भेट्रान सिटि क्लव वीरगन्जको आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउनेछन् ।
फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । भेट्रान सिटि क्लव वीरगन्जका अध्यक्ष सबिन बस्नेतले मधेश प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्नका लागि दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए ।

‘‘विगतमा वीरगन्जमा फुटबलका गतिविधि निकै धेरै हुन्थे । तर,पछिल्लो समय वीरगन्जमा फुटबलका गतिविधि सुस्ताएसँगै खेलकुदको विकास र जर्गेना गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेका हौं,’’ उनले भने,‘‘प्रतियोगिता ए डिभिजन लिग फुटबल खेल्ने टोलीसहित भारतीय टोलीको पनि सक्रिय सहभागिता जनाउनेछन् । यसले मधेश प्रदेशमा फुटबल खेलको विकास गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौं ।’’
प्रतियोगितामा संकटा फुटबल क्लव, मछिन्द्र फुटबल क्लव, बागमती युथ क्लव सर्लाही, नेपाल पुलिस क्लव,गरवाल डाइमण्ड फुटबल क्लव दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड,काठमाडौं, सलहेश फुटबल क्लव सिरहा र आयोजक वीरगन्ज युनाइटेड क्लवले प्रतिस्पर्धा गर्नेछन् ।
क्लवका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताको बिजेता टोलीलाई नगद रु ११ लाख ११ हजार एक सय एघार,ट्रफी,मेडल र प्रमाणपत्र र उपबिजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जानकारी दिए । ‘‘प्रतियोगिता सञ्चालनको लागि आर्दशनगर रंगशालाको मैदान मर्मतसम्भारको कार्य अन्तिम चरणमा पुगिसकेको छ,’’ उनले भने,‘‘दुई महिनादेखि रंगशालाको मैदान मर्मतसम्भारको कार्यलाई तिव्रता दिइएको छ ।’’
प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा वीरगन्ज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिव एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माणको कार्यलाई पनि तिव्रता दिइएको छ ।उनले भने, ‘‘अस्थायी प्याराफिटमा करिव दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ ।’’
प्रतियोगिता संयोजक श्रीवास्तवले विगतमा वीरगन्जमा चर्चित फुटबलका गतिविधि हुने गरेपनि पछिल्लो समय सुस्ताएको फुटबलको गतिविधिलाई फेरि जुर्मुराउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । ‘‘विगतमा सहिद तेजबहादुर अमात्यगोल्डकप, विशाल मेमोरियल गोल्डकप आयोजना भएको थियो । वीरगन्जमा लोप भइरहेको फुटबल प्रतियोगितालाई फेरि पुर्नजागृत गराउनका लागि प्रतियोगिता गर्न लागेका हौं,’’ उनले भने,‘‘ स्थानीय खेला गोल्डकप प्रतियोगिताले स्थानीय फुटबल खेलाडीको खेल कौशल निर्खानका लागि उचित प्लेटफर्म निर्माण गर्ने अपेक्षा गरिएको छ ।’’
प्रथम वीरगन्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगन्ज गोल्डकपको बिजेताको रुपमा नेपाल पुलिस क्लव र उपबिजेताको रुपमा नेपाल आर्मी क्लव भएको थियो ।