२०८२ भाद्र १ गते, आईतवार ०४:११

वीरगन्ज-
प्याब्सन वीरगन्जको आयोजनामा हुने प्रथम प्याब्सन अन्तर विद्यालय महिला क्रिकेट टुर्नामेण्ट र १२ वर्ष मुनीको अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूर्ण भएको छ। वीरगन्ज स्थित होटल भिस्वामा आज आयोजित पत्रकार सम्मेलनमा प्याब्सन वीरगन्जले यो जानकारी सार्वजनिक गर्यो।

पत्रकार सम्मेलन प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले बताए कि फागुन ३ गतेदेखि वीरगन्जस्थित ज्ञानदा एकडेमीमा यी प्रतियोगिताहरु शुरु हुनेछन्। प्रथम संस्करणको अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा २१ वटा विद्यालयले सहभागिता जनाएको छ भने १२ वर्ष मुनीको अन्तर विद्यालय पुरुष क्रिकेट प्रतियोगितामा २० वटा विद्यालय सहभागी हुनेछन्।

प्रतियोगिता संचालनका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने बताउँदै अध्यक्ष श्रीवास्तवले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने टिमहरुलाई पुरस्कृत गरिने जानकारी दिए।

यसै अवसरमा प्याब्सन पर्साका महासचिव आलोक चौरसियाले छिटै नै सामुदायिक र निजी विद्यालय सम्मिलित प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनमा प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधान, पूर्व सचिव सन्नी पाख्रिन लगायत विभिन्न विद्यालयका संस्थापक प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्याब्सन महानगर सचिव अमित आलोकले गरेका थिए।

यी प्रतियोगिताहरुले नयाँ प्रतिभाहरु उदाउने र क्रिकेट प्रति युवाहरुमा रुचि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस