२०८२ असार १७ गते, मंगलवार १२:२३

वीरगन्ज –

पर्सा प्रहरीले मानव बेचविखनमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नं. १५ मा सञ्चालनमा रहेका होटलहरूमा चेकजाँच गर्ने क्रममा यी व्यक्तिहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकामा वीरगन्ज महानगरपालिका वडा नं. १६ का ४५ वर्षीय गिनीलाल गुप्ता र भारत विहार जिल्ला पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर वडा नं. ६ का ४० वर्षीय जय प्रकाश साह पर्छन्। प्रहरी अनुसार, यी व्यक्तिहरूले राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभन देखाएर होटलमा आएका ग्राहकहरूलाई अनैतिक कार्यमा संलग्न गराइरहेको आरोप छ।

यसै कार्यक्रममा प्रहरीले वीरगंजको होटल स्मार्टबाट २ जना र न्यू शान्ति सैनिक होटलबाट २ जना गरी चार जना महिलाहरूलाई उद्धार गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम कारबाही गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास भट्टले थप अनुसन्धान भइरहेको जानकारी दिए। उनले यस प्रकारका कार्यमा संलग्न व्यक्तिहरू विरुद्ध कडा कारबाही हुने बताए।

प्रहरीले यस्ता अनैतिक कार्यमा संलग्न व्यक्तिहरू विरुद्ध निरन्तर कारबाही गर्ने र समाजमा कानूनको शासन कायम गर्ने प्रतिवद्धता जनाएको छ। यस घटनाले मानव बेचविखन जस्ता अपराधहरू नियन्त्रण गर्न प्रहरीको सक्रिय भूमिका देखाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस