काठमाडौं-
सरकारले दिने अनुदान र सहुलियत ऋण वास्तविक किसानलाई मात्रै दिनुपर्नेमा कृषि उद्यमीहरुले जोड दिएका छन् ।
सरकारले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने उनीहरुको भनाइ छ । बज्रबराई च्याउ उत्पादन उद्योगका सञ्चालक विकास देशारले नियमित मौसमी खेती गर्नेहरुले नभई नियमतिक कृषि खेती गरिरहेका कृषकहरुले सरकारी अनुदान सहयोग पाउनुपर्ने बताउनु भयो । उहाँले अनुदान पाउनकै लागि कृषि खेती गर्ने प्रवृत्ति मौलाउँदै जाँदा सरकारी बजेटको दुरुपयोग भइरहेको बताउनु भयो । कृषि अनुदान र सहुलियतमा ऋण कृषि उत्पादनको आधारमा दिनुपर्ने उहाँको भनाइ छ । उहाँले खेती र उत्पादनसम्बन्धी आधारभूत ज्ञान समेत नभएका किसानलाई अनुदान दिँदा समस्या झनै जटिल बन्दै जाने बताउनु भयो ।
एसएस एग्रीकल्चर फार्मका सञ्चलाक प्रदीप सिम्खडाले कृषि व्यवसाय गर्ने किसानले शुरुवाती चरणमा सरकारी अनुदान पाउनुपर्ने बताउनु भयो । उहाँले स्थापित भइसके पछिका किसानले अनुदान नपाएपनि व्यवसाय अगाडि बढाउन सक्ने उहाँको भनाइ छ । आईतवार सम्पन्न नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोमा सहभागी उहाँले शुरुवाती दिनहरुमा कृषि क्षेत्रमा काम गर्न गाह्रो हुने भएको कारण सरकारले आवश्यक सहयोग गर्न जरुरी रहेको बताउनु भयो । उहाँले गरिखाने किसानले सरकारी अनुदान पाउन सकेमात्रै कृषि क्षेत्र फस्टाउउने उहाँको धारणा छ ।
कनेक्ट किसान डिजिटल प्लेटफर्मका सहसंस्थापक राजन दाहालले कृषि क्षेत्रमा सरकारले पर्याप्त लगानी गर्न नसकेको बताउनु भयो । उहाँले कृषि क्षेत्रमा भएको लगानी बिस्तारै खस्कँदै गएको देखिएको बताउनु भयो । उहाँले नेपालले कृषि क्षेत्रसँग सम्बन्धीत कार्यक्रमहरु भारतको कृषि क्षेत्रसँग सम्बन्धित रहेर गर्नुपर्ने उहाँको बुझाई छ । कृषि मेसिनरीको बढीभन्दा बढी सदुपयोग गर्न नसके नेपालमा कृषि उत्पादमा ह्रास आउने र कृषक पलायन बढ्दै जाने बताउनु भयो ।
सरकारले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न नसके कृषि उत्पादनमा ह्रास आउने र कृषक पलायन बढ्ने उहाँको भनाइ छ । आईतवार सम्पन्न नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोमा कृषक र कृषिसम्बन्धी चासो राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकको भनाइ छ । प्रदर्शनीले कृषि सम्बन्धी प्रविधि, बीउबिजन, उत्पादन, बजारीकरणका लागि सहयोग पुगेको आयोजकले बताएको छ ।