वीरगन्ज—
प्याब्सन पर्साको आयोजनामा अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता आजदेखि वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा सुरु भएको छ। प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य डिके ढुङ्गाना र मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गानाले विद्यालयलाई खेलाडी उत्पादन गर्ने पहिलो थलो बताउँदै प्याब्सनले शिक्षासँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले नेपालमै खेलकुद विश्वविद्यालय स्थापना गरी खेल शिक्षा विकास गर्नुपर्नेमा जोड दिए।

मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. शाक्यले यस्ता प्रतियोगिताले विद्यार्थीको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरे। उनले खेलकुदले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा ठूलो भूमिका खेल्ने बताए।
पर्सा क्रिकेट सङ्घका अध्यक्ष ई. मनिष सिंहले विद्यालय स्तरबाटै खेल गतिविधि सञ्चालन हुनु सकारात्मक भएको बताउँदै यसले दक्ष खेलाडी उत्पादनमा टेवा पुर्याउने उल्लेख गरे।
प्याब्सन पर्साका अध्यक्ष चौधरीले वार्षिक तालिका अनुरूप प्रतियोगिता आयोजना गरिएको जानकारी दिँदै यसले विद्यार्थीलाई खेलप्रति प्रेरित गर्ने बताए। उनले प्रतियोगितामा सहभागी विद्यार्थीहरूका लागि २५ हजार रुपैयाँसम्मको सुरक्षा बिमा गरिएको पनि जानकारी दिए।
प्रतियोगितामा पर्सा जिल्लाभरका प्याब्सनमा आबद्ध २७ विद्यालयको सहभागिता रहेको छ। क्रिकेटका खेलहरू फागुन १४ गतेसम्म नारायणी क्रिकेट मैदानमा सञ्चालन हुनेछ भने फुटबलका खेलहरू विपद् व्यवस्थापन गुल्म वीरगन्जको खेलमैदानमा सञ्चालन भई फागुन १० गते समापन हुनेछ।
यस वर्षदेखि प्रतियोगितामा नगद पुरस्कारको व्यवस्था गरिएको छ। क्रिकेटतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने फुटबलतर्फ ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, बेस्ट बलर, बेस्ट फिल्डर, बेस्ट डिफेन्डर लगायतका विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिनेछ।
यस वर्ष वीरगन्ज महानगर बाहिरका ठोरी गाउँपालिका र धोबिनी गाउँपालिकाका विद्यालयहरूले पहिलो पटक सहभागिता जनाएका छन्। विद्यार्थीहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्ने, खेल भावना र सहकार्यको विकास गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको छ।
उद्घाटन सत्रमा प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवाल, मधेस प्रदेश नीति तथा योजना आयोगका सदस्य डा। हरिशंकर साह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, प्याब्सन मधेस प्रदेशका अध्यक्ष गणेश साह, मधेस प्रदेशका वरिष्ठ सल्लाहकार इमामुद्धिन अहमद, केन्द्रीय सदस्य छेदुप लामा, पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्यायलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए। प्रतियोगितामा सहभागी विद्यालयहरूले झाँकी तथा विभिन्न भेषभूषासहित मार्चपास प्रस्तुत गरेका थिए।
यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउने र उनीहरूको प्रतिभा उजागर गर्ने अपेक्षा गरिएको छ।