काठमाडौं-
भारतको ओडिशास्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारका विषयमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीसँग टेलिफोन वार्ता गरेकी छन्। यस वार्तामा मन्त्री राणाले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीका साथै नेपाली विद्यार्थीहरूको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छन्।
मन्त्री राणाले सामाजिक सञ्जाल फेसबूकबाट जानकारी दिँदै बताइन्, “उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छु। नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन ओडिशा सरकारले नै पहल गरिदिनका लागि मैले उहाँलाई आग्रह गरें।”

मुख्यमन्त्री माझीले यस घटनालाई ओडिशा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय दिलाउन उच्चस्तरीय छानबीन समिति गठन गरेर काम सुरु गरिएको जानकारी दिएका छन्। उनले नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि ओडिशा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।
यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँदिल्लीले ओडिशा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन्। मन्त्री राणाले यस विषयमा कलेजको पनि समिति बनेको र त्यहाँ नेपाली राजदूतावास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिरहनुभएकाले उहाँहरूको समन्वयका लागि पनि मुख्यमन्त्री माझीसँग आग्रह गरेकी छन्।