वीरगन्ज –
होटल व्यवसायलाई मर्यादित बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जको संयुक्त आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वीरगन्ज स्थित क्लासिक बैंक्वेटमा आयोजित उक्त कार्यक्रममा होटल व्यवसायी, प्रहरी प्रशासनका प्रतिनिधिहरू, तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले होटल व्यवसायलाई मर्यादित बनाउन व्यवसायीहरूलाई सचेत गराउने योजना रहेको बताए। उनले व्यवसाय सञ्चालन गर्दा कानुनी प्रावधान अनुसार सबै मापदण्ड पूरा गर्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रक्रिया पूरा गरेपनि बेलाबेला सुरक्षाकर्मीहरूले अनावश्यक दुःख दिने गरेको गुनासो गर्दै समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए। साथै, गलत र अनैतिक गतिविधि गर्नेको पक्षमा संघले पनि साथ नदिने स्पष्ट पार्दै उनले निर्दोषलाई दुःख दिने प्रवृतिको अन्त्य हुनुपर्ने धारणा राखे।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले वीरगन्जका होटल तथा स्पा व्यवसायीहरूलाई कानूनको पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने आग्रह गरे। उनले जथाभावि रूपमा सञ्चालन हुने टाटा सुमोको व्यवस्थापनदेखि अनैतिक गतिविधिहरू नियन्त्रण गर्न प्रहरी प्रशासन गम्भीर रहेको जानकारी दिए।
स्पा तथा मसाज सेन्टरहरूको विषयमा विशेष छलफल भएको कार्यक्रममा केही व्यवसायीहरूले सञ्चार माध्यममा आएको समाचारका कारण भवनको भाडा समेत तिर्न कठिन भएको गुनासो गरेका थिए। यसैबीच, स्पाले सरकारले निर्धारण गरेका मापदण्ड पालना गर्नुपर्ने, दर्ता र कर तिर्ने प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारिएको थियो।
कार्यक्रममा होटल व्यवसायी एवं समाजसेवी पशुपति विक्रम शाह, उशा शाह, यात्रा डेलीका प्रबन्ध निर्देशक राम सर्राफ, रोशन गुप्ता, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, पत्रकार युवराज खड्का, सुनिल खेतान लगायत वीरगन्जका होटल व्यवसायीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा होटल तथा स्पा व्यवसाय सञ्चालनमा देखिएका चुनौतीहरू समाधान गर्न सरोकारवालाबीच निरन्तर संवाद आवश्यक रहेको निष्कर्ष निकालिएको थियो। कार्यक्रमको सहजीकरण होटल सिटी ईनका सञ्चालक दिलिपराज कार्कीले गरेका थिए।
यसरी नै, यस्ता कार्यक्रमहरू मार्फत व्यवसायी र प्रशासनबीचको समन्वय बढाउँदै व्यवसायलाई मर्यादित बनाउने प्रयास अघि बढाउने बताइएको छ।