२०८२ आश्विन २० गते, सोमबार २०:२८

केडिया आँखा अस्पतालले मनायो स्वर्ण महोत्सव, उपराष्ट्रपति यादवले गरे प्रशंसा

वीरगन्ज-

परवानीपुर गाउँपालिका वडा नं ४, चैनपुर — रामकुमार महाबिर प्रसाद केडिया आँखा अस्पतालले आज आफ्नो स्थापनाको ५० वर्ष पूरा हुँदै स्वर्ण महोत्सव धूमधामसाथ मनाएको छ।  उपराष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा अस्पतालले पाँच दशकदेखि नेपाल र भारतका लाखौं बिरामीहरूलाई प्रदान गरेको सेवा र योगदानलाई समेटिएको थियो।

उपराष्ट्रपतिले गरे सराहना, दिए आधुनिकीकरणको सुझाव
कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले केडिया आँखा अस्पतालले बिगत ५० वर्षदेखि आँखा स्वास्थ्यमा गरेको अभूतपूर्व योगदान प्रशंसनीय रहेको बताए। उनले भने, “वीरगंज नजिकै रहेको यो अस्पतालले नेपालको प्रवेशद्वारमै दृष्टि सेवाको मान्यता कायम गरेको छ। यसले १८ प्रकारका आँखा उपचार सेवा प्रदान गरेर लाखौंको जीवन उज्यालो बनाएको छ।” यादवले अस्पतालले अन्तर्राष्ट्रिय स्तरको आधुनिक सुविधा समेटेर मुलुकको उत्कृष्ट नेत्रसेवा केन्द्र बन्न पनि आह्वान गरे।

दृष्टि स्मारक अनावरण र सेवा सम्मान
समारोहको सुरुवातमा उपराष्ट्रपति यादवले अस्पताल परिसरमा निर्मित “दृष्टि स्मारक” को अनावरण गरी बिरामीहरूलाई फलफूल वितरण गरेका थिए। साथै, अस्पतालले प्रकाशित गरेको स्वर्णजयन्ती स्मारिकाको विमोचन पनि गरियो।

२७ लाख भन्दा बढी बिरामीको सेवा, ४ लाख शल्यक्रिया
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष परमेश्वरी देवी केडियाले स्वागत भाषणमा बताए अनुसार, अस्पतालले हालसम्म २७ लाख भन्दा बढी बिरामीको उपचार गरिसकेको छ भने ४ लाखभन्दा धेरै शल्यक्रिया पनि सफलतापूर्वक गरिएको छ। उनले दाता, कर्मचारी, र सहयोगीहरूप्रति आभार व्यक्त गरिन्।

पुरस्कार, छात्रवृत्ति र सम्मान
कार्यक्रममा आँखा क्षेत्रमै सर्वोच्च धनराशि (२ लाख ५१ हजार रुपैयाँ) को पुरस्कारबाट प्रा. डा. सुनु दुलाल सम्मानित भए। यसैगरी, दृष्टिबिहीन विद्यार्थीहरूलाई छात्रवृत्ति, हवाईट केन, व्हीलचेयर र ग्रामीण महिला स्वयंसेवकहरूलाई स्ट्रेचर वितरण गरियो। जापानका डा. जुनसुके आकुरा, अस्पतालका संस्थापक रामप्रसाद पोखरेल र परमेश्वरी देवी केडियालाई “मायाको चिन्ह” र दोसल्ला ओढाईले समेत सम्मान गरियो।

संचालन र उपस्थिति
संचारकर्मी लक्ष्मी खरेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा अस्पतालका प्रतिनिधि राजेश केडियाले स्वागत भाषण दिए। समारोहमा स्थानीय नेतृत्व, स्वास्थ्यकर्मी, र बिरामीहरूको सहभागिता रहेको थियो।

केडिया आँखा अस्पतालले आफ्नो स्वर्ण महोत्सवमार्फत् नेत्रसेवाको इतिहासमा अर्को स्वर्णिम अध्याय थप्दै सामुदायिक स्वास्थ्यमा निरन्तर योगदान जारी राख्ने संकलन दोहोर्याएको छ।

पोडकास्ट सुन्नुहोस