वीरगन्ज —
मुर्ली टोलस्थित सगरमाथा माध्यमिक विद्यालयले आयोजना गरेको ९औं विज्ञान तथा प्रविधि प्रदर्शनी (विज्ञान मेला) सोमबार सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ४ देखि १० सम्म अध्ययनरत ११० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले आफ्नै पैसाबाट विभिन्न प्रकारको रचनात्मक परियोजना बनाएर प्रदर्शनीमा प्रस्तुत गरेका थिए।
कार्यक्रमका सभापति विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ता , प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा अध्यक्ष ब्रिजकिशोर पटेल , विभिन्न विद्यालयका प्रधानाध्यापक, अभिभावक, शिक्षक-शिक्षिका तथा कार्यक्रमका संयोजक संजीव यादव सहित एड रोबोटिक कम्पनीका सञ्चालक सिद्धार्थ पटेल पनि उपस्थिति रहेको थियो।

यस प्रदर्शनीको आयोजना विद्यार्थीहरूको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका लागि गरिएको हो भनी संयोजक संजीव यादवले जानकारी दिनुभयो। उनले बताउनुभयो कि विद्यार्थीहरूले पठनपाठनको समय बाहेक ७ दिनको तयारीपछि विभिन्न प्रकारका परियोजनाहरू तयार पारेका थिए। उनले यस्तो कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता र प्रतिभा प्रदर्शन गर्ने मंच प्रदान गरेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ताले विद्यालयको उद्देश्य केवल पठनपाठनमा सीमित नरही विद्यार्थीहरूको सर्वांगीण विकास गर्नु रहेको बताउनुभयो। उनले पढाइको साथसाथै यस्ता क्रियाकलापहरू गराउनु आवश्यक रहेको जोड दिनुभयो।
प्रमुख अतिथि ब्रिजकिशोर पटेलले विद्यार्थीहरूले प्रस्तुत गरेका परियोजनाहरू प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा वैज्ञानिक सोच र नवीनताको विकास गर्न मद्दत गरेको बताउनुभयो।
यस अवसरमा विद्यार्थीहरूले विज्ञान, प्रविधि, कला र सामाजिक विषयहरूमा आधारित विभिन्न परियोजनाहरू प्रस्तुत गरेका थिए। यसले विद्यार्थीहरूको सिर्जनशीलता र प्रतिभाको परिचय दिएको थियो। विद्यालयले भविष्यमा पनि यस्ता कार्यक्रमहरू जारी राख्ने योजना रहेको छ।