२०८२ असार १६ गते, सोमबार २३:१८

वीरगन्ज —

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव यूएईको दुबईमा मधेशी एकता समाजको कार्यक्रममा सहभागी भएपछि सोमबार राति स्वदेश फर्केका छन्। उनको यो भ्रमण विदेशमा पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले केन्द्रित रहेको जसपा नेपालका महासचिव रामकुमार शर्माले जनाएका छन्।

जसपा नेपालले नेपालमा प्रवास विभाग बनाएको छ, तर विदेशमा संगठन नभएको अवस्थामा अध्यक्ष यादवले मधेशी एकता समाज मार्फत विदेशमा पार्टीको संगठन विस्तार गर्ने प्रयास गरिरहेका छन्। मधेशी एकता समाजको विभिन्न देशमा संगठन रहेको छ भने यसका अन्तर्राष्ट्रिय अध्यक्ष डा. रविन्द्र यादव जसपा नेपालसित निकट मानिन्छन्।

जसपा नेपालको प्रवास विभाग प्रमुख सुरेश मण्डल रहेका छन्। अध्यक्ष यादवले हालै प्रवास विभाग अन्तर्गत नेपाली मधेशीहरू कार्यरत रहेका विभिन्न देशका जिम्मेवार नेताहरूलाई दायित्व बाँडेका छन्। महासचिव शर्माका अनुसार, नेपालीहरू रहेका हरेक देशमा जसपा नेपालको संगठन विस्तार गरिने छ।

जनमत पार्टीको विदेशमा बलियो उपस्थिति

मधेश केन्द्रित दलहरू मध्ये विदेशमा जनमत पार्टी (जनमत) को बलियो उपस्थिति रहेको छ। जनमत पार्टीको विदेशमा गैर-आवासीय मधेशी संघ (एनएमआर) मार्फत संगठन रहेको छ। स्रोतहरूका अनुसार, दुबईबाट मात्र जनमत पार्टीलाई महिनाको १४ लाख रुपैयाँ चन्दा प्राप्त हुने गरेको छ। गत आम निर्वाचनमा जनमत पार्टीले मधेशका जिल्लाहरूमा सर्वाधिक समानुपातिक मत प्राप्त गरेको थियो, जसमा विदेशमा रहेका नेपालीहरूको ठूलो योगदान रहेको बताइन्छ।

जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतले संगठनलाई सक्रिय बनाइराख्न विदेश भ्रमण गरिरहेका छन्। जनमत पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार, अध्यक्ष राउत एनआरएमको होली मिलन समारोह र कार्यकर्ताहरूसित भेटघाटका लागि यूएई गएका हुन्। उनी शनिबार दुबई पुगेका थिए भने सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

जसपा र जनमतको प्रतिस्पर्धा विदेशमा पनि

जसपा नेपालका अध्यक्ष यादवले दुबईमा आयोजित मधेशी एकता समाजको कार्यक्रममा सहभागिता जनाएपछि युवाहरूमाझ जसपा नेपालप्रति रुचि बढेको दुबईका मधेशी नेता धर्मेन्द्र यादवले बताएका छन्। उनका अनुसार, नेपालमा जनमत पार्टीले अपेक्षाकृत कार्य गर्न सकेको छैन, जसकारण विदेशमा जनमत पार्टीबाट युवाहरू विमुख हुन थालेका छन्।

जसपा नेपालले विदेशमा पनि संगठन विस्तार गरेर जनमत पार्टीको प्रभावलाई कम गर्ने रणनीति अघि बढाएको छ। महासचिव शर्माका अनुसार, “स्वदेश र विदेशमा संगठन विस्तारको अभियान चलिरहेको छ। कुनै पार्टीको वर्चस्व घटाउन नभई आफ्नो संगठन बनाउनमा हामी केन्द्रित छौं।”

विदेशमा जनमत पार्टीको बलियो आर्थिक आधार रहेको छ। यसले प्रवासी मधेशीहरूबाट ठूलो आर्थिक सहयोग पाएको छ। जसपा नेपालले विदेशमा संगठन बनाएर यस आर्थिक स्रोतलाई बाँड्ने योजना बनाएको बताइन्छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस