२०८२ असार १७ गते, मंगलवार ११:५७

वीरगन्ज-

पोखरिया नगरपालिकामा नापी र मालपोत कार्यालय सञ्चालनमा आएको छ। यसले ग्रामीण क्षेत्रका नागरिकहरूको लामो समयदेखिको मागलाई पूरा गरेको छ। बिहीबार आयोजित एक समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले यस कार्यालयको उद्घाटन गरेका छन्।

मन्त्री अधिकारीले कार्यालय सञ्चालनबाट ग्रामीण क्षेत्रका नागरिकहरूलाई सेवा प्राप्ति गर्न सहज हुने बताए। उनले यसले समय र पैसा दुवै बचत हुने जनाए। उनले पोखरियाकै कार्यालयबाट सबै प्रकारका सेवा उपलब्ध गराइने बताए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पोखरियामा नापी र मालपोत कार्यालय ल्याउने आफ्नो चुनावी प्रतिबद्धता पूरा गरेकोमा खुशी व्यक्त गरे। उनले यस क्षेत्रमा प्रशासनिक कार्यालय स्थापनाका लागि पनि पहल गरिएको जानकारी दिए। साथै, उनले पोखरियालाई करोडौं रुपैयाँको योजना दिने प्रतिबद्धता पनि जनाए।

मन्त्री गुप्ताले भारत सरकारको सहयोगमा ३५ करोड रुपैयाँको योजना पोखरियालाई दिइसकेको र केही दिनमा चीनबाट पनि ४० देखि ५० करोड रुपैयाँसम्मको योजना दिने बताए। उनले भने, “मैले सम्हालेको मन्त्रालय विकास गर्ने मन्त्रालय होइन, तर पनि आफ्नो गाउँठाउँको विकासका लागि सकेसम्म प्रयास गरीरहेको छु।”

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, युवा, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, प्रदेश सभा सदस्य श्याम पटेल र बिना शर्मा, पूर्व सांसद बिचारी यादव, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, हरिनारायण रौनियार, पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहान लगायतको उपस्थिति रहेको थियो।

वीरगन्जबाट करिब १३ किलोमीटर टाढा रहेको पोखरियामा सञ्चालनमा आएको यस कार्यालयबाट पोखरिया नगरपालिकासँगै ६ वटा गाउँपालिकाका नागरिकहरू लाभान्वित हुनेछन्। अब यस क्षेत्रका नागरिकहरूलाई नापी र मालपोत सम्बन्धी कामका लागि वीरगन्ज धाउनुपर्ने बाध्यता समाप्त भएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस