काठमाडौं-
गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभएको छ ।
शनिवारबाट नेपाल प्रहरीले शुरु गरेको लागुऔषध बिरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले अहिले संघीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधबिरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताउनु भयो । उहाँले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताउनु भयो । पालिका र वडा—वडा स्तरबाट लागुऔषध बिरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन आग्रह गर्नुभयो । समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागुऔषधले समाजमा नकारात्मक प्रभाव पारेको जिकिर गर्नुभयो ।

गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मुल कारण लागुऔषध रहेको बताउनु भयो । अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गर्नुभयो । लागुऔषध नियन्त्रणसम्बन्धी महाअभियानलाई विद्यालय तहसम्म पु¥याउन जरुरी रहेको बताउनु भयो । लागुऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने जिकिर गर्नुभयो ।