२०८२ बैशाख १३ गते, शनिबार २३:५९

वीरगन्ज –

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल, वीरगन्ज महानगर समितिले संघीय लोकतन्त्रमाथि भइरहेको प्रहारको विरोधमा वीरगन्जमा र्‍याली निकालेको छ । गणतन्त्रको पक्षमा आयोजित उक्त र्‍याली वीरगन्जको लालबंगलाबाट सुरु भई बजारको मुख्य भागको परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पर्सा सह-इञ्चार्ज मनोज चौधरी, पार्टी महानगर सचिव बृजलाल पासवान, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पर्सा सह-इञ्चार्ज सन्जु चौधरी, जयशंकर यादव, सन्दीप कुमार पटेललगायतले सम्बोधन गरेका थिए । र्‍यालीमा युवा संघका महानगर अध्यक्ष तारकेश्वर चौवे, उपाध्यक्ष अखलेश गुप्ता, सचिव मधु सिंह राजपूत, सह-सचिव नागेश्वर यादव, कोषाध्यक्ष जयप्रकाश मण्डल, शनि यादव, रामबाबु मण्डल, रामनरेश मण्डल, पप्पु महतो, सदाम अन्सारीसहितका नेताकार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

कोण सभामा बोल्ने नेताहरूले राजतन्त्रको पुनःस्थापना असम्भव रहेको र लोकतन्त्रमाथि केही प्रतिगामी शक्तिहरूले आक्रमण गरिरहेको बताए । उनीहरूले लोकतन्त्रको एकमात्र विकल्प लोकतन्त्र नै भएको र सबै लोकतान्त्रिक शक्तिहरू एकमत रहेको तर्क प्रस्तुत गरे । केन्द्रीय सदस्य मनोज चौधरीले सम्बोधनका क्रममा भने, “राजाले फेरि सक्रियता देखाउने प्रयास गरेमा उनको सुरक्षासमेत हटाइनुका साथै नागरिकता खारेज हुन सक्छ ।” उनले राजाको गद्दी पुनःस्थापनाको कल्पनालाई ‘मृत घोडालाई घाँस खुवाउने प्रयास’ को संज्ञा दिँदै त्यो भ्रम मात्र भएको बताए ।

नेताहरूले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै शक्तिहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन् । यो र्‍याली र सभाले वीरगञ्जमा लोकतान्त्रिक मूल्य र मान्यताप्रति युवाहरूको प्रतिबद्धता झल्काएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस