काठमाडौँ
सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गम्भीर चासो व्यक्त गर्दै तत्काल हस्तक्षेप गरेको छ।
प्रधानमन्त्री कार्यालयले पक्राउ परेका पत्रकारलाई अविलम्ब रिहा गर्न र सञ्चारगृहमा भइरहेको धरपकड रोक्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कडा निर्देशन दिएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशन भन्दै प्रहरी टोली विभिन्न सञ्चारमाध्यमका समाचार कक्ष (न्यूज रुम) मै पुगेर पत्रकारहरूलाई पक्राउ गर्ने तथा नियन्त्रणमा लिने प्रयास गरेपछि तीव्र विरोध भएको थियो। चौतर्फी विरोध र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपलाई ध्यानमा राख्दै प्रधानमन्त्री कार्यालयले घटनामा पछाडि हटन प्रहरी नेतृत्वलाई निर्देशन दिएको हो।
प्रधानमन्त्री कार्यालयको हस्तक्षेपपछि नेपाल प्रहरीको साइबर ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका पत्रकारलाई आधा घण्टाभित्र रिहा गर्ने तयारी थालेका छन्। त्यसैगरी, विभिन्न सञ्चारगृहमा पत्रकारलाई नियन्त्रणमा लिन खटिएका प्रहरी टोलीहरू पनि नियन्त्रण छाडेर फिर्ता हुन थालेका छन्।
यसअघि शुक्रबार प्रहरीले ‘नेपाल प्रेस’का संवाददाता विश्वमणि सुवेदीलाई बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो। नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेलका अनुसार सादा पोशाकमा आएका प्रहरी टोलीले कुनै पक्राउ पुर्जी समेत नदेखाई सुवेदीलाई समाचार कक्षबाटै उठाएर लगेका थिए।
प्रहरीको उक्त कदमको चौतर्फी आलोचना भइरहेका बेला सरकारको यो हस्तक्षेपपछि पक्राउ परेका पत्रकार रिहा हुने क्रममा रहेका छन्।











