२०८३ कार्तिक १४ गते, शुक्रबार ११:३२

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी: भारतीय विदेश सचिव विक्रम मिस्री कात्तिक १८ गते नेपाल आउँदै

काठमाडौं —

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आगामी भारत भ्रमणको तयारीका लागि भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन्।

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन र भ्रमणका अन्य विविध एजेण्डा एवं तयारीबारे छलफल गर्न विदेश सचिव मिस्री कात्तिक १८ गते तीनदिने भ्रमणका क्रममा काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

प्रधानमन्त्रीलाई मोदीको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरिने

काठमाडौं बसाइका क्रममा विदेश सचिव मिस्रीले प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट पठाइएको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते (नोभेम्बर २२) देखि भारत भ्रमणमा जाने तय भएको छ। गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेयता शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। मिस्री काठमाडौंबाट फर्किएपछि दुवै देशले भ्रमणको औपचारिक घोषणा गर्ने जनाइएको छ।

यसअघि पनि विदेश सचिव मिस्री नेपाल आउने तयारी भए पनि प्रधानमन्त्रीसँगको भेटवार्ताको समय तालिका निश्चित हुन नसक्दा अन्तिम समयमा भ्रमण रोकिएको थियो।

नवनियुक्त राजदूत दलेला कात्तिक १७ गते आइपुग्ने

यसैबीच, विदेश सचिव मिस्रीको नेपाल आगमनको अघिल्लो दिन अर्थात् कात्तिक १७ गते नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आउँदैछन्।

निवर्तमान राजदूत नवीन श्रीवास्तवले आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी फर्किएपछि भारत सरकारले दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको हो। दलेला नेपाल तथा भुटान मामिलाका अनुभवी कूटनीतिज्ञ मानिन्छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस