काठमाडौं-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकोप्रति कडा आपत्ति जनाएका छन्। जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा धारणा राख्दै उनले विदेशमा पसिना बगाइरहेका लाखौँ नेपालीलाई राज्यले नजरअन्दाज गरेको भन्दै प्रश्न उठाए।
“आँसु, रगत र पसिना बगाउने प्रवासी श्रमिकहरू राज्यको नजरमा सुखी नेपाली होइनन् र?” प्रचण्डले प्रश्न गरे। उनले नेपालको अर्थतन्त्र रेमिट्यान्समा आधारित भए पनि नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूको योगदानलाई समेट्न नसकिएकोमा दुख व्यक्त गरे।
“सरकारले रेमिट्यान्सको वृद्धिदर देखाएर प्रगति बाँड्छ, तर त्यो रेमिट्यान्स कसको पसिनाले आएको हो, त्यसबारे विचार गरिँदैन,” उनले भने। विदेशमा श्रम गरेर पठाएको रेमिट्यान्सको कदर गर्न र फर्किएका श्रमिकहरूको सीप उपयोग गर्ने योजना नीति तथा कार्यक्रममा नहुनु गम्भीर कमजोरी भएको उनको भनाइ छ।
प्रचण्डले गत वर्षको नीति तथा कार्यक्रममा समावेश ‘रेमिट्यान्स उद्यमशीलता कार्यक्रम’ यस वर्ष हटाइएकोप्रति पनि प्रश्न उठाए। “एक लाख रिटर्नी नेपालीलाई उद्यममा जोड्ने कार्यक्रम नीति तथा कार्यक्रममा अटाउन नसक्नु दुर्भाग्यपूर्ण हो,” उनले टिप्पणी गरे। उनले सरकारको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाउँदै प्रवासी श्रमिकहरूको हितमा ठोस नीति बनाउन आग्रह गरे।