काठमाडौं-
भारत र पाकिस्तानबीच तनाव चरमोत्कर्षमा पुगेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, लगातार दोस्रो दिन बिहीबार राति पाकिस्तानले ड्रोन र मिसाइल आक्रमणमार्फत् भारतका संवेदनशील क्षेत्रहरूलाई निशाना बनाएको छ। जम्मु-कश्मीर, पञ्जाब, राजस्थान र गुजरातका विभिन्न स्थानमा यी आक्रमणहरू भएको पुष्टि भएको छ।
भारतीय सेनाका अनुसार, पाकिस्तानले आत्मघाती ड्रोनसहित आठ मिसाइल आरएसपुरा, सतवारी, साम्बा र अरनियातर्फ प्रहार गरेको थियो। तर, भारतले अत्याधुनिक एस-४०० वायु रक्षा प्रणाली प्रयोग गरेर सबै आक्रमणलाई निष्फल बनाएको दाबी गरेको छ। बुधबार राति पनि जम्मु र पठानकोटका सैन्य अखडाहरूमा पाकिस्तानले आत्मघाती ड्रोनमार्फत् आक्रमण गरेको थियो। रक्षा स्रोतहरूका अनुसार, दुई दिनसम्म लगातार उही स्थानहरूलाई निशाना बनाइएको छ।
कश्मीर सीमामा गोली हानाहान
कश्मीरको आरएसपुरा सेक्टर, कुपवाडा र बारामुल्ला नजिकै नियन्त्रण रेखा (एलओसी) वरपर पाकिस्तानबाट गोली प्रहार भएको भारतीय पक्षको दाबी छ। आरएसपुरा क्षेत्रमा दोहोरो गोली हानाहान जारी रहेको बताइएको छ।
संवेदनशील क्षेत्रमा ब्ल्याकआउट
सुरक्षाको दृष्टिकोणले भारतले जम्मु-कश्मीर, राजस्थान, पञ्जाब र गुजरातका संवेदनशील सहरहरूमा ब्ल्याकआउट घोषणा गरेको छ। प्रभावित क्षेत्रमा जम्मु, उधमपुर, किश्तवाड, श्रीनगर, अनन्तनाग, बाडमेर, बिकानेर, श्रीगंगानगर, चण्डीगढ, अमृतसर, जालन्धर, होशियारपुर, पठानकोट, भुज र कच्छ समावेश छन्।
अपरेशन सिन्दूर र पाकिस्तानको जवाफी हमला
भारतीय सेनाले बुधबार बिहान ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानको केही वायु रक्षा संरचना ध्वस्त पारेको दाबी गरेको थियो। जवाफमा, बुधबार राति र बिहीबार पाकिस्तानले भारतका १५ भन्दा बढी सैन्य अखडाहरूमा आक्रमणको प्रयास गरेको भारतीय रक्षा स्रोतहरूको भनाइ छ। पाकिस्तानले भने भारतको दाबीलाई अस्वीकार गर्दै कुनै क्षति नभएको बताएको छ।
प्रारम्भिक अनुसन्धानमा पाकिस्तानले इजरायलबाट प्राप्त ‘हार्पी’ ड्रोन प्रयोग गरेको देखिएको भारतीय स्रोतहरूको दाबी छ।
भारतको रक्षा प्रणाली सतर्क
भारतीय सेनाको इन्टिग्रेटेड डिफेन्स स्टाफले सामाजिक सञ्जाल एक्समार्फत् वक्तव्य जारी गर्दै भनेको छ, “पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरका सैन्य स्टेशनहरूलाई लक्षित गरी मिसाइल र ड्रोन प्रहार गरेको थियो। तर, भारतको वायु रक्षा प्रणालीले सबै आक्रमणलाई निष्फल बनाएको छ। कुनै क्षति भएको छैन।”
यी दुई आणविक शक्ति सम्पन्न राष्ट्रहरूबीचको पछिल्लो सैन्य तनावले दक्षिण एसियाली क्षेत्रको शान्तिमा गम्भीर चुनौती खडा गरेको विश्लेषकहरूले बताएका छन्।