२०८२ असार १७ गते, मंगलवार २०:४९

काठमाडौँ-

अमेरिकी विदेश मन्त्रालयले भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध हिंसा, सैन्य कारबाही र युद्ध बन्द गर्न अपिल गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा यस्तो आग्रह गर्दै कूटनीति र नयाँ विचार नै दशकौँदेखिको तनाव र हिंसा समाधानको एकमात्र उपाय भएको बताएकी छन्।

पत्रकारहरूको प्रश्नमा ब्रुसले भनिन्, “हाम्रो सन्देश स्पष्ट छ— हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ। मध्य पूर्वमा युद्धले समाधान नदिएको कुरा प्रमाणित भइसकेको छ। युद्ध र हिंसा समाधान होइन, कूटनीति र नयाँ सोचले मात्र पुस्तौँदेखिको समस्याको समाधान सम्भव छ।”

भारत र पाकिस्तानबीच मध्यस्थताको सम्भावनाबारे सोधिएको प्रश्नमा ब्रुसले कुनै पनि कूटनीतिक वार्ताको विवरण सार्वजनिक नगर्ने अमेरिकी नीति रहेको उल्लेख गरिन्। उनले भनिन्, “जब देशका नेताहरू कूटनीतिक वा व्यक्तिगत स्तरमा कुराकानी गर्छन्, हामी त्यसको जानकारी मिडियामा साझा गर्दैनौँ। यो हाम्रो नीति हो।” उनले भारत र पाकिस्तानबीच मध्यस्थताको विषयमा न त पुष्टि गरिन् न त अस्वीकार।

ब्रुसले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफसँग फोनमा कुराकानी गरेको जानकारी पनि दिइन्। रुबियोले दुवै नेतासँग तनाव कम गर्न, हिंसा रोक्न र प्रत्यक्ष वार्तालाई प्राथमिकता दिन आग्रह गरेका थिए।

पहलगाम आतंकी हमलापछि भारत र पाकिस्तानबीच बढेको तनावका बीच अमेरिकाले दुवै देशलाई संयम अपनाउन र शान्तिको बाटो रोज्न आग्रह गरेको हो। रुबियोले आतंकवादविरुद्ध भारतसँग सहकार्य गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै दक्षिण एसियामा शान्ति कायम गर्न सहयोग गर्ने बताएका छन्।

अमेरिकाको यो कदमलाई दक्षिण एसियामा बढ्दो तनाव कम गर्ने प्रयासका रूपमा हेरिएको छ। यद्यपि, विश्लेषकहरूले अमेरिकी विदेश नीतिमा दक्षिण एसियाको प्राथमिकता घट्दै गएको र हिन्द–प्रशान्त क्षेत्रमा बढी ध्यान केन्द्रित भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस