२०८२ असार १७ गते, मंगलवार ०१:१३

काठमाडौँ –

भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह र प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भुवनेश्वर प्रहरीले विश्वविद्यालय प्रशासन, कर्मचारी र विद्यार्थीसँग छलफल गरेको छ। बिहीबार दिउँसो केशरीनगरस्थित प्रहरी कमिस्नर कार्यालयमा भएको साढे दुई घण्टाको छलफलमा प्रहरीले विद्यार्थीहरूलाई कुनै दबाब, उत्पीड़न वा समस्याको जानकारी तुरुन्तै दिन आग्रह गरेको छ। प्रहरीले हटलाइन नम्बर उपलब्ध गराएको छ र विश्वविद्यालय प्रशासनलाई यस्ता घटना दोहोरिन नदिन जिम्मेवार बन्न सचेत गराएको छ।

छलफलमा छात्राहरूले विश्वविद्यालयभित्र केटाहरूबाट उत्पीड़न हुने, कर्मचारीहरूले अनावश्यक शंका गर्ने र स्थानीय युवाहरूले बाटोमा जिस्काउने गरेको गुनासो गरे। यी विषयमा विश्वविद्यालय प्रशासनलाई पटकपटक जानकारी गराउँदा पनि बेवास्ता भएको उनीहरूको भनाइ छ। प्रहरी कमिस्नर डा. सुरेश देवदत्त सिंहले विद्यार्थीहरूको गुनासो सुनुवाइका लागि एक महिला डिएसपीलाई जिम्मेवारी दिएको बताए। उनले विदेशी विद्यार्थीहरूलाई ढुक्क भएर पढ्न र कुनै आपराधिक गतिविधि भए तुरुन्तै कारबाही गर्ने आश्वासन दिए।

प्रिसा साहको मृत्युको अनुसन्धानमा चार भारतीय विद्यार्थीमाथि मौखिक उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रिसाका बुबा श्याम साहले दिएको जानकारीअनुसार ती विद्यार्थीले प्रिसालाई कक्षाकोठा र खाना खाने समयमा उत्पीड़न गरेको आरोप छ। प्रहरीले १० विद्यार्थीसँग सोधपुछ गरिरहेको छ, तर प्रिसाका दुई रुममेट बिदामा गएकाले उनीहरूसँग बयान लिन बाँकी छ। ल्यापटप र मोबाइलको फरेन्सिक रिपोर्ट आउन बाँकी छ, तर पोस्टमार्टममा संदिग्ध विवरण नभेटिएको प्रहरीले जनाएको छ।

किट विश्वविद्यालयमा गत फागुनमा प्रकृति लम्साल र वैशाख १८ मा प्रिसा साहको मृत्युले नेपालीसहित विदेशी विद्यार्थीमा त्रास फैलिएको छ। प्रहरी र विश्वविद्यालय प्रशासनले विदेशी विद्यार्थीका लागि काउन्सिलिङ सुरु गरेको छ। प्रहरीले विश्वविद्यालय परिसरमा सुरक्षा प्रदान गर्न तयार रहेको जनाउँदै यस्ता घटनाप्रति गम्भीर अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस