२०८२ असार १७ गते, मंगलवार १६:१२

काठमाडौँ –

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले भारत–पाकिस्तान आक्रमणको विषयलाई प्राथमिकताका साथ उठाएका छन् ।

दुई देशबीच चलेको श्रृंखलावद्ध आक्रमणले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् । भारतमा रहेका नेपाली नागरिकको सुरक्षा र सीमानाहरुमा सुरक्षा व्यवस्था चुस्त राख्नुपर्ने उनीहरुको माग छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाले नेपाल शान्तीको पक्षमा रहेको सन्देश विश्व समुदायलाई दिनुपर्नेमा जोड दिनुपर्ने बताउनु भयो । सांसद खनालले सार्वजनिक वक्तव्यमा परराष्ट्र मन्त्रालयले आतंकवादविरुद्ध लिएको अडानको स्वागत गर्दै सम्भावित युद्धको अवस्थामा नेपालमा पर्नसक्ने प्रभावहरूको गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले भारत–पाकिस्तानबीच युद्धको स्थिति उत्पन्न भएमा नेपालमा पर्नसक्ने सुरक्षा, आपूर्ति, र आर्थिक असरहरूका साथै ति देशहरूमा रहेका नेपालीहरूको अवस्थाबारे विश्लेषण गरी योजना बनाउन सरकारसँग माग गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले भारत–पाकिस्तानबीच सम्भावित युद्धको असरबारे सचेत हुनुपर्ने बताउनु भयो ।
नेकपा (एमाले)की सांसद सरस्वती सुब्बाले भारत–पाकिस्तानबीच चुलिँदो तनावले नेपालमा पनि तत्काल असर पार्नसक्ने भन्दै सरकारलाई कूटनीतिक सक्रियता बढाउन आग्रह गर्नुभयो । उहाँले बढ्दो द्वन्द्व र अस्थिरताको प्रभाव नेपालमा प्रत्यक्ष देखिनसक्ने उल्लेख गर्नुभयो । भारत–पाकिस्तानबीचको तनाव नरोकिए भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सीमाको सुरक्षा जोखिम, आर्थिक परनिर्भरता, आपूर्ति संकट, हवाई यातायात, पर्यटन र व्यापार समेत प्रभावित हुनसक्ने उहाँको भनाइ छ । सांसद सुब्बाले नेपालले असंलग्न परराष्ट्र नीतिको मार्गबाट नहटिकन भारत र पाकिस्तान दुवैसँग संवाद र कुटनीतिक समन्वय बिस्तार जोड दिनुभयो ।

२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तान आम्नेसाम्ने भएका छन् । पहलगाम आक्रमणमा पाकिस्तालाई दोषी देखाएर भारतले जवाफी हमला शुरु गरेको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस