काठमाडौँ –
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको आर्थिक विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो आग्रह गर्नुभएको हो । प्राधिकरणका निवर्तमान र वर्तमान प्रवन्ध निर्देशकहरुले जानकारी गराएको खर्च र आम्दानीको विवरणले आम जनतामा अन्यौलता सिर्जना गरेको बताउनु भयो । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण १३ अर्ब ६१ करोड रुपैयाँ नाफामा रहेको दाबी गर्नुभएको थियो ।

प्राधिकरणलाई नाफामा देखाउँदै घिसिङले सर्वसाधारणमा आईपीओ जारी गर्ने उद्घोष समेत गर्नुभएको थियो । तर प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दैै प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गर्नुभयो । उहाँकाअनुसार प्राधिकरण अहिलेपनि ५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको छ ।