काठमाडौँ-
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले विवेक र चेतना पु¥याएर दलितमाथिको विभेद अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार ६७ औँ कानून दिवसको अवसरमा दलित लाइभ म्याटरले आयोजना गरको ‘जस्टिक समिट २०२५’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कानूनी कारबाहीले मात्रै दलितमाथिको विभेद अन्त्य नहुने बताउनु भयो । समाजका अन्य वर्गले समानताको व्यवहार गरे मात्रै जातीय विभेद अन्त्य हुनसक्ने उहाँको भनाइ छ । उहाँले नयाँ संविधान निर्माण भएसँगै छुवाछुत लगायत लैंगिक विभेद अन्त्य गर्न धेरै प्रयास भएपनि निर्मूल पार्न नसकिएको बताउनु भयो । उहाँले संविधानमा उल्लेखित दलित तथा मौलिक अधिकारका बारेमा कानून निर्माण गर्न अध्ययन भइरहेको बताउनु भयो ।

मन्त्री चौरासियाले दलित समुदायसँग सम्बन्धित सवालहरुमा सरकार गम्भीर रहेको बताउनु भयो । सरकारले छुवाछुत र जातीय विभेद अन्त्य गर्न नीतिगत र कानूनी प्रतिवद्धता व्यक्त गरेको उहाँको भनाइ छ । उहाँले दलितमाथिको विभेद अन्त्य नभइ लोकतान्त्रिक व्यवस्तालाई बलियो बनाउन नसकिने बताउनु भयो ।