२०८२ असार १७ गते, मंगलवार ०१:०४

वीरगन्ज-

स्टडि लैन्ड एडुकेशन फाउन्डेशन, वीरगन्जले हालै एस.ई.ई. परीक्षा दिएका विद्यार्थीहरूका लागि वीरगन्जको एक होटलमा एकदिने करियर मार्गदर्शन तथा प्रेरणादायी कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक र व्यावसायिक भविष्यको मार्गनिर्देशन गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय समितिका प्रमुख हरी राउत, विशिष्ट अतिथिहरू सरेज चौधरी र समाजसेवी कञ्चन झालगायतले पानसमा दियो बालेर गरेका थिए। आयोजकका अनुसार कार्यक्रममा विभिन्न जिल्लाका करिब ४०० विद्यार्थीहरूको सहभागिता रहेको थियो।

मुख्य अतिथि राउतले आफ्नो मन्तव्यमा आयोजकलाई यस्तो प्रशिक्षण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै विद्यार्थीहरूलाई किताबी शिक्षासँगै आधुनिक शिक्षामा ध्यान दिन आग्रह गरे। उनले भने, “विद्यार्थीहरूले अब परम्परागत शिक्षासँगै समसामयिक सीप र ज्ञानमा जोड दिनुपर्छ।”

विशिष्ट अतिथि कञ्चन झाले विद्यार्थी र युवाहरूलाई राजनीतिबाट टाढा रहनुपर्छ भन्नेहरूमाथि कटाक्ष गर्दै नेताहरूलाई आफ्नो क्षेत्रको विकासबारे प्रश्न गर्न अनुरोध गरे। “हाम्रा विद्यालय किन बनेनन्? स्वास्थ्य कार्यालयको अवस्था किन कमजोर छ? हाम्रा टोल र गाउँका सडक, संरचना किन निर्माण भएनन्?” भन्दै उनले विद्यार्थीहरूलाई समाज र देश बनाउने जिम्मेवारी युवाहरूकै काँधमा रहेको बताए। उनले थपे, “केही नेताहरू नयाँ पुस्ताको आवाज दबाउने सोचमा छन्। त्यसैले विद्यार्थी र युवाले मुख बन्द गरेर होइन, मुख खोलेर प्रश्न गर्नुपर्छ।”

कार्यक्रममा प्रख्यात मोटिभेसनल स्पीकर दिबेशमानव शेवाले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति दृढ रहन र स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्न प्रेरित गरे। कार्यक्रमको अध्यक्षता स्टडि लैन्ड एडुकेशन फाउन्डेशन, वीरगन्जका प्रबन्ध निर्देशक अमन कुमार पटेलले गरेका थिए।

स्टडि लैन्ड एडुकेशन फाउन्डेशन एक शैक्षिक संस्था हो, जसले विद्यार्थीहरूलाई नेपाल तथा विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा भर्ना हुन मार्गदर्शन प्रदान गर्छ। यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई उनीहरूको रुचि, क्षमता र लक्ष्यअनुसार उच्च शिक्षाको सही मार्ग छनोट गर्न सहयोग गर्नु हो।

कार्यक्रमले सहभागी विद्यार्थीहरूमा नयाँ उत्साह र उद्देश्य जगाएको छ। उनीहरू आफ्नो सम्भावनालाई उपयोग गर्दै समाजमा अर्थपूर्ण योगदान दिन प्रेरित भएर फर्किएका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस