काठमाडौं –
गृहमन्त्री रमेश लेखकले सङ्घीय निजामती सेवा विधेयकअन्तर्गत कुलिङ पिरियडको अवधि र सेवा उमेर हदमा देखिएको मतान्तरलाई सहमतिबाट टुङ्ग्याउने बताउनुभएको छ ।
आईतवार सिंहदरबारमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल” गर्न बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुलिङ पिरियडको समय अवधि र सेवाको उमेर हदबाहेक अन्य सबै विषयमा सहमति भइसकेको बताउनु भयो । उहाँले कुलिङ पिरियडको समय अवधि र सेवाको उमेर हदको विषयमा पनि नजिक पुगिसकेको दाबी गर्नुभयो ।

गृहमन्त्री लेखकले कुलिङ पिरियड राख्ने विषयमा विवाद नभएको र कति अवधि राख्ने भन्नेकुरा मात्रै बाँकी रहेको बताउनु भयो । यस्तै, उहाँले सेवाको उमेर हद पनि ५८ बाट ६० गर्ने भन्नेमा विवाद नभएको र कसरी चरणवद्ध गर्ने भन्नेमा मात्रै केही मतान्तर देखिएको बताउनु भयो । उहाँले विधेयक पारित गर्दा सहमति मै पारित गर्नुपर्ने पद्धति र परम्परा रहेको बताउँदै यसलाई पनि सहमति मै टुङ्ग्याउने जिकिर गर्नुभयो ।
विधेयकको प्रश्तुतकर्ता सरकार भएकोले सदनबीच सहमति भएको खण्डमा विधेयक परिपक्व हुने र कार्यान्वयनमा पनि सहजता हुने बताउनु भयो ।