काठमाडौँ-
आज बैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। सोमबार नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले २५६९ औँ बुद्धजयन्ती भक्तिपूर्वक मनाएका छन्। भगवान् गौतम बुद्धप्रति श्रद्धा र भक्तिका साथ यो पर्व मनाइन्छ।
इसापूर्व ५६३ मा वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तुको लुम्बिनी उद्यानमा राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट सिद्धार्थ गौतमको जन्म भएको थियो। मानव जीवनका दुःखबाट चिन्तित बनेका सिद्धार्थले २९ वर्षको उमेरमा दरबार त्यागी तपस्याको बाटो रोजे। इसापूर्व ५२८ मा बुद्धगयास्थित बोधिवृक्षमुनि उनले बुद्धत्व प्राप्त गरे। त्यसपछि उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारियो।
बुद्धले दुःख नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्गको ज्ञान प्राप्त गरे। यी मार्गहरू—सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि—हुन्। उनले यो ज्ञान पहिलोपटक सारनाथको मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई धर्मदेशनामार्फत बाँडे। ४५ वर्षसम्म यस्ता शिक्षाहरू प्रचार गरेपछि इसापूर्व ४८३ मा कुशीनगरमा ८० वर्षको उमेरमा उनले महापरिनिर्वाण प्राप्त गरे।

विश्वमा शान्तिका अग्रदूत र एसियाका ताराका रूपमा चिनिने गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए। बुद्ध दर्शनले विश्वमा सम्प्रदाय र पथको रूप लिएको छ।
बुद्धजयन्तीका अवसरमा नेपाल सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ। २००८ जेठ ८ गतेदेखि यो पर्वमा देशभर बिदा दिइँदै आएको छ।