२०८२ श्रावण २९ गते, बिहीबार २१:३०

जनकपुरधाम-

धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीमा बिहे भोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । बिरामीहरूमा पेट दुख्ने र बान्ता हुने समस्या देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार, नरेश महराको छोरीको बिहेमा सहभागी जन्ती र अन्य पाहुनाहरू बिरामी भएका हुन् । जनकपुर उपमहानगरपालिका–२३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेका थिए । स्वयम्बर सकिएलगत्तै खाजामा बुनियाँ, रसबरीलगायतका मिठाइ खुवाइएको थियो ।

प्रमुख यादवले बताएअनुसार ४५ जनाभन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएका छन् भने अन्यको नजिकका क्लिनिक र अस्पतालमा उपचार भइरहेको छ । केही बिरामी उपचारपछि निको भएर घर फर्किएका छन् ।

खाजाको गुणस्तर जाँच गर्न नमूना ल्याबमा पठाइएको र बिरामी हुनुको कारण छिट्टै पत्ता लाग्ने अपेक्षा गरिएको प्रमुख यादवले बताए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस