काठमाण्डौ-
राष्ट्रपति रामचन्द्र पौडेलले हज कार्यलाई व्यवस्थित रुपबाट सञ्चालन गर्न समयानुकुल नीति, नियम र प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लाग्नुभएका हजयात्रीलाई शुभकामना दिने क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै विशिष्टता रहेको उल्लेख गर्नुभयो । उहाँले विविध जातजाति, समुदाय, भाषाभाषी संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवद्र्धनका लागि सबै एकसाथ मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । यसकै माध्यमबाट आपसमा भाइचारा,मित्रता र सद्भाव बढाउँदै अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले इस्लाम धर्मावलम्वीहरुको विश्वासअनुसार हज यात्रा आध्यात्मिक पुनःजन्म जस्तै जहाँ मानिसले अल्लाहको घर पुगेर आफ्नो सबै पाप र दोषबाट मुक्त हुने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । पवित्र आस्था र विश्वास बोकेर जाने हज यात्रीहरुको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिने पनि बताउनु भयो । सो असवरमा राष्ट्रपतिलाई हजयात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिनुभएको थियो ।