जनकपुरधाम –
जानकी महिला जागरण समाज, धनुषा जनकपुरधाम र सहयोगी संस्था कानुनी सहायता तथा परामर्श केन्द्रले वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमसँग लैंगिक उत्तरदायी न्याय र लैंगिक हिंसा न्यूनीकरणका विषयमा छलफल गरेको छ। समाजमा व्याप्त महिला हिंसा र दमनलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा विस्तृत चर्चा भएको हो।
छलफलमा उपप्रमुख आलमले वीरगन्ज महानगरपालिकाले लैंगिक हिंसा न्यूनीकरणका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “समाजमा बढिरहेको विकृति रोक्न हामी विभिन्न कार्यक्रममार्फत प्रयास गरिरहेका छौं। यस्ता कार्यक्रममा मेरो र महानगरपालिकाको पूर्ण साथ र सहयोग रहनेछ,” उपप्रमुख आलमले भन्नुभयो।
कार्यक्रमको उद्देश्य लैंगिक हिंसालाई अन्त्य गर्नुका साथै न्यायिक समितिमा दर्ता हुने उजुरीहरूको छिनोफानोका लागि आवश्यक कानुनी सहयोग प्रदान गर्नु रहेको थियो। उपप्रमुख आलमले यसका लागि महानगरपालिकाले कानुनी प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्ने बताउनुभयो।
जानकी महिला जागरण समाजका कार्यकारी निर्देशक राजन नेपाल, अधिवक्ता जुली कर्ण, र कार्यक्रम संयोजक संजय पौडेलको सहभागिता रहेको थियो। कार्यक्रमको जानकारी उपप्रमुखका प्रेस सल्लाहकार मोहम्मद सदाबले दिनुभएको हो।