२०८२ असार १७ गते, मंगलवार ००:३८

वीरगन्ज-

वीरगन्जको क्लासिक ब्याङ्क्वेटमा आइतबार आयोजित मोटिभेसनल कार्यक्रममा दर्जनौँ विद्यार्थी बेहोस भएर ढलेपछि यस्ता कार्यक्रमको वैधानिकता र प्रभावमाथि गम्भीर प्रश्न उठेको छ। निम्स इन्स्टिच्युटले एसईई उत्तीर्ण विद्यार्थीका लागि आयोजना गरेको करियर काउन्सिलिङ कार्यक्रममा मानव सेवा आश्रमका संयोजक दिवेश गुप्ता को ‘भावनात्मक’ भाषणका क्रममा विद्यार्थीहरू एकपछि अर्को गर्दै बेहोस भएका थिए।

कार्यक्रममा सहभागी आधा दर्जनभन्दा बढी विद्यार्थीलाई मानसिक तनाव र शारीरिक असहजताका कारण तत्कालै वीरगन्जको प्रभु अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि उनीहरू होसमा आए पनि घटनाले मोटिभेसनल क्लासको नाममा हुने गैरजिम्मेवार प्रस्तुतिमाथि प्रश्न उठाएको छ। एक अभिभावकले आक्रोश व्यक्त गर्दै भने, “यदि कुनै विद्यार्थीलाई हृदयघातजस्तो गम्भीर समस्या भएको भए जिम्मेवारी कसले लिन्थ्यो?”

आयोजकको स्पष्टीकरण

निम्स इन्स्टिच्युटका सञ्चालक अजय यादव ले घटनाबारे प्रतिक्रिया दिँदै भने, “मोटिभेसनको क्रममा केही भावनात्मक कुराहरू आउँदा सहभागीमध्ये एकजना विद्यार्थीलाई मात्र समस्या देखिएको थियो। हामीले तत्काल उनलाई अस्पताल लग्यौँ, जहाँ चिकित्सकले भावनात्मक कुराले उनलाई केही असहज भएको र कुनै गम्भीर समस्या नरहेको बताए।” यद्यपि, प्रत्यक्षदर्शी र अभिभावकहरूले एकभन्दा बढी विद्यार्थी बेहोस भएको दाबी गरेका छन्।

मोटिभेसन कि मानसिक आघात?

मनोवैज्ञानिक दक्षता र प्रमाणित प्रक्रियाविना सञ्चालित यस्ता मोटिभेसनल क्लासहरूले प्रेरणाको सट्टा मानसिक आघात निम्त्याउने जोखिम बढेको यो घटनाले देखाएको छ। भावनात्मक भिडियो र आँसु झार्ने भाषणमार्फत विद्यार्थीको मनोभावनामा खेल्ने शैलीले संवेदनशील किशोर-किशोरीमा गम्भीर मानसिक र शारीरिक प्रतिक्रिया देखिएको छ। मनोविज्ञानका जानकारहरूका अनुसार, भर्खरै परीक्षा दिएका वा तनावमा रहेका विद्यार्थीहरूलाई यस्ता कार्यक्रममा सहभागी गराउनुअघि उनीहरूको मानसिक अवस्था जाँच्न आवश्यक छ।

गैरजिम्मेवार आयोजनाको जोखिम

कार्यक्रममा मृत्यु, अभाव वा आमाबुबासँग जोडेर अपराधबोध जगाउने कथाहरू प्रस्तुत गरिएको थियो, जसले विद्यार्थीहरूलाई भावनात्मक दबाबमा पारेको सहभागीहरूले बताए। मनोवैज्ञानिकहरूले यस्तो शैलीले किशोर मनोविज्ञानमा दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिएका छन्। घटनामा कुनै गम्भीर स्वास्थ्य समस्या नदेखिए पनि यस्ता कार्यक्रमको पूर्वस्वीकृति, वक्ताको योग्यता र सुरक्षा मापदण्डको अभावले आयोजकको गैरजिम्मेवारी उजागर भएको छ।

सचेतनाको आवश्यकता

यो घटनाले मोटिभेसनल क्लासको चम्किलो आवरणभित्र लुकेका जोखिमहरूबारे अभिभावक, विद्यालय र विद्यार्थी स्वयंलाई सचेत हुनुपर्ने आवश्यकता देखाएको छ। प्रेरणा र दबाबबीचको सीमाना नबुझ्दा यस्ता कार्यक्रम त्रासपूर्ण बन्न सक्छन्। अभिभावकहरूले यस्ता क्लासमा विद्यार्थीलाई पठाउनुअघि आयोजकको विश्वसनीयता, वक्ताको मनोवैज्ञानिक दक्षता र कार्यक्रमको उद्देश्यबारे जाँच गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

यस्ता घटनालाई रोक्न मोटिभेसनल कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनबाट स्वीकृति, मनोवैज्ञानिक परामर्शदाताको उपस्थिति र सहभागीको मानसिक स्वास्थ्य जाँच अनिवार्य गर्नुपर्ने माग अभिभावकहरूले गरेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस