२०८२ असार १७ गते, मंगलवार ११:४८

काठमाडौं –

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) ले रैथाने बालीबाट उत्पादित वस्तुहरूको बजारीकरण र अत्यावश्यक वस्तुको आपूर्तिमा महत्वपूर्ण योगदान दिएको बताएका छन्। सोमबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र एसटीसीको संयुक्त आयोजनामा भएको ‘उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममा उनले यस्तो बताए।

मन्त्री भण्डारीले दशैं-तिहारजस्ता चाडपर्वमा एसटीसीले सुपथ मूल्य पसल सञ्चालन गरी आपूर्ति शृङ्खलालाई व्यवस्थित बनाएको र मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुगेको उल्लेख गरे। “गत दशैंमा चिनीको आपूर्ति राम्रोसँग व्यवस्थापन गरेर सम्भावित अभाव हुन नदिएकोमा एसटीसीको भूमिका प्रशंसनीय छ,” उनले भने।

उनले सरकारको नीति कार्यान्वयनमा एसटीसीले व्यावसायिक संस्थाको रूपमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताउँदै आपूर्ति शृङ्खलामा देखिएका समस्याहरू समाधान गर्न मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। “यो संस्थासँग नजिक रहेर काम गर्दा आपूर्ति शृङ्खला थप व्यवस्थित हुन्छ। हामी यसका लागि सहयोग गर्नेछौँ,” मन्त्री भण्डारीले थपे।

कार्यक्रममा नाफिज र एसटीसीका प्रतिनिधिहरूले उपभोक्ता संरक्षण र बजार व्यवस्थापनका चुनौतीबारे छलफल गरेका थिए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस