२०८२ असार १७ गते, मंगलवार ११:०८

वीरगन्ज –

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरी नेतृत्वको टोलीले वीरगञ्ज महानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलम सँग न्यायिक समितिमा परेका मुद्दा, मेलमिलाप प्रक्रिया र ‘उज्यालो वीरगन्ज , सफा वीरगन्ज ’ अवधारणाबारे छलफल गरेको छ।

वीरगन्ज महानगरपालिकाले सञ्चालन गर्दै आएका न्यायिक समितिका काम, कर्तव्य र उपलब्धिहरूबारे तुलसीपुरको टोलीले जिज्ञासा राखेको थियो। उपप्रमुख आलमले न्यायिक समितिले तत्कालै मुद्दाहरूको मेलमिलाप गरी समाधान गर्ने कार्य प्रभावकारी रूपमा गरिरहेको बताए। “हाम्रो समितिले मुद्दाहरूलाई सकेसम्म छिटो र मेलमिलापको आधारमा समाधान गर्ने प्रयास गरेको छ। यो कार्यमा हामीले राम्रो नतिजा दिइरहेका छौँ,” उनले भने।

छलफलमावीरगन्ज महानगरले अघि सारेको ‘उज्यालो वीरगन्ज , सफा वीरगन्ज ’ अवधारणाबारे पनि विस्तृत चर्चा भएको थियो। उपप्रमुख आलमले नगरवासी, जनप्रतिनिधि, कर्मचारी र महानगर नेतृत्वको संयुक्त प्रयासले यो अभियान सफल भएको बताए। उनले वीरगञ्जलाई पर्यटकीय नगरी बनाउने लक्ष्यअनुसार मठमन्दिर, गुम्बा, चिडियाखाना र पार्कहरूको सौन्दर्यीकरण र विकासको काम भइरहेको जानकारी दिए। “मठमन्दिर र गुम्बाको सौन्दर्यीकरण सम्पन्न भइसकेको छ। बाँकी योजनाहरूको डीपीआर तयार भइसकेको छ र आगामी दिनमा हाम्रो लक्ष्य पूरा हुनेछ,” उनले थपे।

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले तुलसीपुरको विकास र न्यायिक समितिको कार्यप्रणालीबारे आफ्नो धारणा राखिन्। उनले वीरगन्जको अभियान र न्यायिक समितिको कार्यशैलीबाट धेरै कुरा सिक्न सकिने बताइन्।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिका सदस्यहरू देवी पोख्रेल र लालमति भण्डारी, वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख प्रतिज्ञा बैठा, सामान्य प्रशासन महाशाखा प्रमुख सुनिल कर्ण, न्यायिक समितिका उजुरी प्रशासक धनबहादुर थापा लगायतको उपस्थिति रहेको थियो। उपप्रमुख आलमका प्रेस सल्लाहकार महमद सदाब ले कार्यक्रमको विवरण सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस