काठमाडौँ —
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई आगामी जेठ १५ गते काठमाडौंलाई पूर्ण रूपमा एमालेको नियन्त्रणमा ल्याउन निर्देशन दिएका छन्।
आइतबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै ओलीले राजधानीमा देखिनुपर्ने एमालेको प्रभावका लागि तयारी थाल्न कार्यकर्तालाई आह्वान गरे।

उनले वडाध्यक्षहरूलाई प्रशिक्षणमा पूर्ण ध्यान दिनु र प्रशिक्षणपछि जेठ १५ गतेका कार्यक्रमहरूमा पूर्ण रूपमा सक्रिय हुन निर्देशन दिए। “१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ,” ओलीले भने, “कुन संस्था अगाडि लाग्छ, कसले के आयोजना गर्छ भन्ने नहेरी तपाईँहरू तयारी अवस्थामा बस्नुस्।”
ओलीले पछिल्लो समय राजावादी धार देखिएको भन्दै त्यसप्रति कडा प्रतिक्रिया दिएका छन्। उनले राजा वीरेन्द्रको हत्या भएको स्मरण गराउँदै अहिलेको राजावादी नारालाई खोक्रो दाबी भनेका छन्। “राजावादीहरू महान उद्देश्यका लागि लडिरहेका होइनन्,” उनले टिप्पणी गरे, “राजा प्राणभन्दा प्यारो छ भन्नेहरू वीरेन्द्र मारिँदा कहाँ थिए?”
उनको आरोप छ, सरकार र जनताको मौनताको फाइदा उठाउँदै राजावादीहरूले अनावश्यक ‘फुर्तिफार्ति’ देखाएका छन्, जसको प्रतिवाद आवश्यक रहेको उनले बताए।
ओलीको यो भनाइसँगै नेकपा (एमाले) ले जेठ १५ मा राजधानीमा शक्ति प्रदर्शन गर्ने संकेत स्पष्ट भएको छ।